धरान : इटहरी उपमहानगरले धरान उपमहानगरको क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा सेफ्टी ट्याङ्कीको दिशाजन्य फोहोर जथाभाबी फालेको विषयमा धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका बिच आज छलफल भएको छ ।

आज बिहान धरान उपमहानगरपालिकामा दुई पक्षबिच बसेको बैठकले मानव स्वास्थ्य र वातावरणलाई प्रभाव नपर्ने तरिकाले सेफ्टी ट्याङ्कीको दिशाजन्य फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरका वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार दुई पक्षबिच बसेको बैठकले सेफ्टी ट्याङ्कीको सञ्चालक समितिसँग बैठक बसेर दिशाजन्य फोहोरलाई व्यवस्थित ढङ्गले व्यवस्थापन गर्न लगाउने निर्णय गरेको छ ।

यस विषयमा सामुदायिक वन उपभोक्तासँग पनि छलफल गर्ने निर्णय भएको छ । बैठकमा वातावरणलाई असर नहुने तरिकाले व्यवस्थित रूपमा दिशाजन्य फोहोरलाई व्यवस्थापन गर्नुपर्ने दुवै पक्षले जोड दिएका थिए ।

धरानमा भने जनवरी पहिलो सातादेखि वडा नं. ६ पानवारी स्थित फोहोरबाट ऊर्जा निकाल्ने वेस्टटु इनर्जी परियोजना सञ्चालनमा आउदैछ । इटहरी उपमहानगरले पनि फोहोर व्यवस्थापन गर्नका लागि ल्याण्डफिल्ड साइड निर्माण गर्दै छ ।

इटहरीको फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल्ड साइड आगामी चैतबाट सञ्चालनमा आउने बताइएको छ । यसरी चारकोशे जङ्गलमा दिशाजन्य फोहोर जथाभाबी रूपमा फाल्न नदिने दुवै पक्षबिच आजको बैठकमा सम्झौता भएको बताइएको छ ।