विराटनगर : विराटनगरमा सीमावर्ती क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ ।

आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो । तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबिच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैध रूपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ८/९ जनाको सङ्ख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

हवाई फायर पछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट (कम्मरमा लगाउने पेटी) सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको उनले बताए । खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ थालिएको बताए ।

Rabina-Khatun
तस्बिर : रबिना खातुन