झापा : झापाका ११ वटा स्थानीय तहमा १० देखि १५ शैयाको अस्पतालको शिलान्यास हुने भएको छ ।

मङ्सिर १५ गते भित्र सबै अस्पताल शिलान्यास गरी सकिने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैयाको अस्पताल निर्माणको शिलान्यास एकैसाथ गर्न लागेको हो ।

झापाका १० सहित देशका ३९६ स्थानीय तहका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै अस्पताल निर्माणका लागि पत्राचार गरिएको छ। कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मङ्सिर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्री स्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५, १० र १५ शैयाको अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ । यस अनुसार झापाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो ।

बिर्तामोडस्थित अनारमनि स्वास्थ्य चौकी, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल निर्माण हुन लागेका हुन् ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल निर्माण गरिँदैछ भने बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकी, झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीलाई १०/१० शैयाकोे अस्पताल बनाइँदैछ ।

यता कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैया, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैया र हाल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैयाकोे अस्पताल निर्माण हुन लागेको हो ।

मन्त्रालयले लागत इस्टीमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले व्यहोर्ने व्यवस्था गरेको छ । यस्तै हाल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल बनाउनका लागि बजेट विनियोजन भएर आएपनि अस्पताल निर्माणका विषयमा विवाद रहेको छ ।

हाल्दिबारी-१ को गोलधापमा रहेको गोलधाप स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भन्ने विषयमा विवाद छ ।