धरान : धरानमा आज बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३३०१ पुगेको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।

यसै गरी अहिले होम आइसोलेसनमा ३३० जना रहेका छन् भने २९०६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । 

धरानमा दसैँ देखि छठ सम्म कोरोना परीक्षण भएन :
धरान उपमहानगरपालिकामा दसैँ देखि यता चाड पर्वको कारण कोरोना परीक्षण भएन । 

दसैँ देखि यता मङ्सिर ४ गते बिहीबार ४७ जनाको स्वाबको नमुना लिइएको थियो । त्यस पछि हिजो ५० जनाको स्वाब लिइएको छ ।

यो बाहेक चाड पर्वको कारण कोरोना परीक्षणका लागि स्वाब सङ्कलन नभएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

उनका अनुसार फेरी धरानमा कोरोना परीक्षणलाई तीव्रता दिन आज देखि स्वाब सङ्कलन सुरु भएको छ । 
कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्दा लक्षण देखिएकाहरूको मात्रै गरिने पनि प्रमुख मेहेताले बताए ।