ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गरेका छन् ।

वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको बताउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा सामुदायिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।

उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनले बताए ।

उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायात लगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिने भएको छ । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडा समेत वितरण गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङ लगायतको सहभागिता थियो ।

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् ।

जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् । कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवा सुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।

यस्तै घुन्सा नमुना गाउँ बन्नेमा समेत उनीहरू विश्वस्त देखिएका छन् । “हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौँ, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोन सहित इन्टरनेटको समस्या समाधान हुन्छ होला”, स्थानीयवासी हिमाली चुङ्दाकले भने ।

विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्याउनु परेको , देश विदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए ।

यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधि समेत बढेर जानेमा घुन्साका बासिन्दा ढुक्क बनेका छन् ।

Ghunsa-1

प्रधानमन्त्री समक्ष घुन्सावासीका माग :
घुन्सालाई नमुना गाउँका रूपमा विकास गर्न घुन्साबासीले माग गरेका छन् ।

स्थानीयवासीले प्रधानमन्त्री समक्ष माग पत्र पेस गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युतको क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासा लगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका छन् ।

यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिन समेत स्थानीयवासीले अनुरोध गरेका छन् ।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य एकाइले दुई वर्षअघि मात्र भवन पायो । घुन्सा फाउन्डेसनको पहलमा भवन स्थापना भएको हो । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ ।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनको समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देश विदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ ।

यस्तै पर्यटन प्रवर्द्धनका निमित्त आवश्यक पूर्वाधार लगायतको विकासमा ध्यान दिनसके पर्यटकको आगमनमा वृद्धि हुँदै जाने र त्यसले समग्र घुन्सावासीलाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने स्थानीयवासीको विश्वास छ ।

Ghunsa-2 Ghunsa-3 Ghunsa-4 Ghunsa-6 Ghunsa-5 Ghunsa-7