धरान : लोक गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।

'रिंकीबुङको राँगो' लाई बोलको चर्चित गीतका गायक सुरेश गन्धर्व केही समय देखि अस्वास्थ्य भएर ओछ्यानमा थलिएका थिए । उनको अवस्थाबारेमा विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा चर्चा भएपछि रंगभुमी एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले गन्धर्वको बारेमा सोधी खोजी गरेका थिए ।

आफ्नो सारङ्गी गुरुको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनी र नेकपाका नेता चोत्लुङ र सञ्चारकर्मी संजिता धमला लगायतको पहलमा हिजो उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गन्धर्वलाई भर्ना गरिएको हो ।

गन्धर्व दीर्घ रोगी भएकोले उनलाई अरू रोगहरूको पनि सङ्क्रमण हुन सक्ने भन्दै प्रतिष्ठानको ट्रपिकल वार्डको ४ नम्बर बेडमा भर्ना गरिएर राखिएको रंगभुमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले बताए ।

सुरेश गन्धर्वलाई अस्पतालमा भर्ना गरे पछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी पनि अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन ।

उनले सो क्रममा उपचारका लागि सहयोग गर्ने बताइन् । यसै गरी आज धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि गन्धर्वको स्वास्थ्य अवस्था बुझ अस्पताल आउने आफूलाई जानकारी आएको मोक्तानले बताए ।

एउटा लोक भाका र बाजाका सर्जकको स्वास्थ्य उपचारमा यसरी सबैले साथ सहयोग गरे र भयो भने अवस्य पनि यस्ता सर्जकलाई बचाउन सकिने मोक्तानको भनाई छ ।

गन्धर्वको उपचारमा डा.सञ्जीव शर्माको टोली संलग्न रहेको बताइएको छ । उनको उपचारका लागि सबैलाई सहयोगको अपिल पनि गरिएको छ ।

Suresh-Gandharba-1 1