धरान : लोक-पप तथा मेलोडियस गीतसङ्गीतको लागि ९० को दशक देखि अझ पनि उत्तिकै लोकप्रिय पोखरेली ब्यान्ड कन्दरा अहिले पनि आफूलाई नयाँ-नयाँ गीतसंगीत पस्कनमा उत्तिकै सक्रिय छन् ।

यही क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत 'मलाई नसोध कहाँ दुख्छ घाउ' लाई आफ्नो स्वरमा पस्केका छन् ।

कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहे पनि उनी आफ्ना नेपालमा रहेका सहकर्मीहरूसँग उत्तिकै नजिक छन् र यही नजिकपन लाई आफ्ना श्रोता-दर्शकहरुमाझ आत्मीयता बनाउन उनी आफ्नो ब्यान्ड सँग कुनै पनि स्टेज सो होस या गीत रेकर्ड कै बेला किन नहोश उनी नेपाल आइहाल्छन् ।

केही वर्ष अघि मात्र उनले आफ्नो ब्यान्डसँग धरान, दमक, बुटवल , बिर्तामोड , पोखरा लगायतका विभिन्न सहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्यान्डका सदस्यहरूलाई अस्ट्रेलिया लाँदै थिए तर सोही समयको कोरोनाको महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन । अब भने पुन कन्दरा ब्यान्डलाई सक्रिय बनाउन आफ्ना ब्यान्ड सदस्यहरूसित लागिपरेका छन् ब्यान्डका गायक विवेक श्रेष्ठ ।

स्वरसम्राट नारायण गोपालको ३० औँ पुण्य स्मृतिको अवसरमा स्वरसम्राट नारायण गोपालको शब्द र सङ्गीत र हरिभक्त कटवालको रचना रहेको 'मलाई नसोध कहाँ दुख्छ घाउ' लाई नेपालमा रहेका आफ्ना ब्यान्ड सदस्यहरू सुनिल थापा, अमित गुरुङ, अनिल गुरुङ, असीम शेरचन, बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन् ।

स्वर सम्राट्को अजम्मरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरू झैँ श्रोताहरूले मनपराईदिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरूले गरेका छन् ।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली गीतसङ्गीतको लागि आफ्नो ब्यान्ड कन्दरामार्फत निरन्तर लागिरहने प्रण गरेका ब्यान्ड सदस्य तथा गायक विवेक श्रेष्ठ कोरोना महामारीको अन्त्य सँगै फेरि पनि नेपालका कुना-कन्दरा आफ्ना मेलोडियस गीतसङ्गीत पस्किन आउने बताउँछन् ।