धरान : धरान-१३ मा रहेको कृषि उपज बजार स्थल हाता भित्र ७५ टन क्षमताको शीत गृह सञ्चालनमा आएको छ ।

देशमै पहिलो पटक सरकारी निकायबाट सञ्चालनमा आएको यो शीत गृहमा १० टन स्याउ राखेर सञ्चालन सुरु गरिएको छ ।

प्रदेश सरकारको ५० लाख र कृषि उपज बजार स्थलको २५ लाख लागतमा निर्माण भएको शीत गृहमा २५ टन क्षमताको ३ वटा च्याम्वर रहेका छन् । विषेशगरी फलफूल, हरियो तरकारी र अरू तरकारी जन्य बस्तुलाई लक्षित गरी सञ्चालन गरिएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

त्यसै गरी आलु, प्याजलाई पनि स्टोरेजको क्षमता विस्तार गरी राख्ने योजना रहेको बताइएको छ । शीत गृहमा राख्दा गुणस्तर ह्रास हुन नदिने, बन्द हडतालको बेलामा पनि आपूर्ति गरेर सुरक्षित राख्न सकिने र ताजा तरकारी तथा फलफूल आपूर्तिमा सहजता आउने व्यवस्थापक भट्टराईले बताए ।

शीत गृह सञ्चालन आएसँगै यसबाट कृषक, व्यापारी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्नेछ । खेती गरेर उत्पादन गर्ने कृषकलाई सुरक्षित बजारीकरणले थप हौसला मिल्नेछ । कोल्ड चेनको अवधारणालाई विकास गरी लसको मात्रालाई न्यूनीकरण गर्ने र आगामी वर्षहरूमा क्षमता विस्तार गरी कम्तीमा ३ सय म्याट्रिक टन क्षमता पुर्‍याई सेवा प्रवाह गर्ने लक्ष रहेको बताइएको छ ।

यो सेवा नेपालमै सरकारी बजारमा पहिलो बजार सेवा भएको दाबी गरिएको छ । यो शीत गृहमा व्यापारीले प्रतिकेजी ३ रुपैयाँका दरले र कृर्षकले बिजुलीको खर्च तिर्ने शुल्क तिरेमा ६ महिना सम्म आफ्नो सामान राख्न पाउनेछन् ।