धरान : प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ ।

ज्येष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा पूर्व मिस नेपाल तथा ज्येष्ठ नागरिक ग्रामकी डिजाइनर शृखंला खतिवडा, सामाजिक अभियन्ता रमेश प्रसाईँ, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र ज्येष्ठ नागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासी सँग छलफल गरिसकेको छ ।

छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रूप दिइएको शृखंला खतिवडाले बताए । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ ।

१० बिगाहा १४ कट्ठामा ७२ वटा घरहरू निर्माण गरिने योजना बनाइएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

भवन निर्माणको शिलान्यास पछि ज्येष्ठ नागरिक ग्राम निर्माणले गतिलिने सामाजिक विकास मन्त्री घिमिरेले बताए । उहाँले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरू भन्दा ज्येष्ठ नागरिक ग्राम स्तरीय बन्ने बताए ।

ज्येष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रूपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट सुरु गरिएको मन्त्री घिमिरेले बताए । उनले ज्येष्ठ नागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताउनुभयो । चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने उनले बताए ।