पथरी : वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काट्ने काम मात्र भएको र सो कार्य राष्ट्रिय हित विपरीत रहेको सङ्घीय सांसद घनश्याम खतिवडाले बताएका छन् ।

वैज्ञानिक वन भन्दा निजी वन किसानमुखी बन्न सक्ने बताएका छन् । कृषि सहकारी र प्राकृतिक श्रोत समिति, सदस्यसमेत रहेका सङ्घीय सांसद खतिवडाले बिहीबार मोरङको कानेपोखरीमा पारिवारिक निजी वन सङ्घ नेपालको केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

पारिवारिक निजी वन किसानमुखी बनाउन आफूहरू लागिपरेको उनको भनाइ थियो । पारिवारिक निजी वन सङ्घ नेपालको केन्द्रीय समितिको टोली बिहीबार निजी वन भ्रमणको क्रममा मोरङको कानेपोखरी आइपुगेको हो ।

स्थानीय तहमा वन कानुन निर्माण गर्दा पारिवारिक निजी वनलाई किसानमुखी बनाउन उत्प्रेरित गर्ने उद्देश्यले जनप्रतिनिधि हरूबिच छलफल आयोजना भएको थियो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफलेले कानेपोखरीमा पारिवारिक वन किसानमुखी बनाउने बताए ।

कार्यक्रम सञ्चालनको क्रममा सङ्घका केन्द्रीय सचिव नवीन पौडेलले पारिवारिक निजी वनलाई तस्करहरूको चङ्गुलबाट हटाउन किसान मुखी ऐन कानुन निर्माण हुनुपर्ने बताए ।

उनले स्थानीय तहबाटै निजी वन दर्ता, कटान र विक्री वितरण सहज पाउनु पर्ने बताए । सङ्घले धान, कोदो, कमै लगायतका बाली जस्तै निजी जग्गामा वन लगाउन कटान र बिक्री वितरण सहज हुने कानुन निर्माण हुनुपर्ने माग राख्दै बताए।

निजी वनमा बिमाको सुविधा, बैङ्क धितो राख्न मिल्ने सुविधा राज्यतह वाटै उपलब्ध भए वन विकासको साथै किसानहरूलाई सहज हुने बताए ।