विराटनगर : प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैङ्क सञ्चालन गर्ने भएको छ ।

आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरूलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोड दिएका छन् ।

व्यवसाय गर्ने सोच भएका युवाहरूलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले स्किम बैङ्क सञ्चालनको तयारी गरेको हो ।

कार्यक्रम सञ्चालनका लागि नमुनाका रूपमा सुनसरीको दुहबी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सूर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिएका छन् ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैङ्कका प्रतिनिधि सँग आज स्किम बैङ्क सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पुँजी/अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्किम नभएका युवाहरूलाई अनुकूलका उद्यम गर्नका लागि स्किम दिने गरी कार्यक्रम सुरु गर्न लागिएको गौतमले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोजन गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने उनले बताए । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताए ।

छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले वित्तीय संस्था नपुगेका स्थानमा वित्तीय संस्था सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।