पथरी : इन्टरनेट प्रदायक कम्पनी सेन्चुरी १०० लिङ्कले आफ्नै कम्पनीमा कार्यरत श्रमिकलाई कामबाट निकालेको छ । काम बाट निकालिएपछि श्रमिक बिचल्लीमा परेका छन् ।

उर्लाबारी-२ बरगाछीमा मुख्य कार्यालय रहेर सञ्चालनमा रहेको कम्पनीमा कार्यरत कर्मचारीहरूले महिनौँ देखिको तलब नपाएको गुनासो गरेका छन् ।

महिनौँ देखिको तलब नपाएका श्रमिकलाई कम्पनीले दिएको मोटरसाइकल समेत बिना कारण खोसेर शुक्रवार बिचल्ली बनाएको कामदार उमेश धिमालले बताए ।

‘केही दिनअघि देखि नै तलबका विषयमा कम्पनीका व्यवस्थापक कुमार कार्कीसँग कुराकानी भइरहेको थियो । शुक्रवार तलब दिने भनेर कार्कीले उर्लाबारी चिउरा मिल छेउमा बोलाए तर तलब दिनुको सट्टा उल्टै मोटरसाइकलको चाबी खोसेर लगे धिमालले भने हामी बिचल्लीमा परेपछि घरबाट लिनलाई साथीभाइ बोलाएका छौँ ।’

रातको समयमा उर्लाबारीमा बिचल्ली भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई भोलि कार्यालय समयमा आएर निवेदन दिन भनेको अर्का श्रमिक नवीन अधिकारीले बताए ।

मासिक १५ हजारका दरले तलब सुविधा लिने गरेका उमेशको २ महिनाको सुविधा लिन बाँकी रहेको छ । सोही कम्पनीमा कार्यरत श्रमिक खगेन्द्र मगर र निसान धिमालको मासिक तलब १२ हजार तोकिए पनि उनीहरूले ४ महिना देखि तलब पाएका छैनन् ।

यस्तै मासिक ३० हजार तलब तोकिएका नवीन अधिकारीको १ लाख ५० हजार सुविधा लिन बाँकी रहेको छ । दीपक कटुवालको मासिक १२ हजारका दरले ४ महिनाको सुविधा लिन बाँकी रहेको छ । यस्तै दीपेन्द्र पौडेलको पनि मासिक ११ हजार ५ सयका दरले ४५ दिनको सुविधा लिन बाँकी रहेको बताएका छन् ।

सेन्चुरीका सञ्चालक गोविन्द र सरोज भट्टराई हुन् । यो विषयमा बुझ्नका लागि व्यवस्थापक कार्की र गोविन्द भट्टराईलाई पटक पटक सम्पर्क गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन ।

कार्कीको मोबाइल स्विच अफ छ भने भट्टराईको फोन उठ्दैन । सेन्चुरीले बिराटचौक, पथरी शनिश्चरे, उर्लाबारी र दमकमा सेवा प्रदान गरिरहेको छ