धरान : धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार सुरु हुने भएको छ । तरकारी, फलफूल, माछा मासु, दूधजन्य वस्तु, कस्मेटीक, चमेना गृह लगायत आवश्यक दैनिक उपभोग्य बस्तुहरू एकै स्थलमा उपलब्ध गराउन बजार सञ्चालनमा ल्याउन लागिएको एक सञ्चालकले बताए ।

धरान-७ शुक्रपथको भैडी किनारमा रहेको सुनिल शेखर श्रेष्ठ, निश्चल मोहन पलिखे र भरत मोहन पलिखेको करिब १० कट्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर उक्त सब्जी बजार निर्माण गरिएको सञ्चालक मध्येका एक काजी गिरीले बताए ।

काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीको संयुक्त लगानीमा उक्त बजार सञ्चालनमा ल्याउन लागिएको हो ।

धरान आसपासका कृषकहरूलाई र विभिन्न ठाउँमा छरिएर रहेका व्यवसायीहरू एवम् उपभोक्ताहरूलाई सुलभ मूल्यमा ताजा सागसब्जी उपलब्ध गराउने उद्देश्यले यो बजार निर्माण गरिएको कृषि उपज बजारका पूर्व अध्यक्ष समेत रहेका सञ्चालक काजी गिरीले बताए ।

शौचालय, पार्किङ, सुरक्षा गार्ड, सिसी क्यामेरा सहित नियमित सरसफाइको व्यवस्था गरिएको ५९ वटा कोठा रहेको उक्त स्थानमा जिउँदो र ताजा माछा, सफा स्वास्थ्यकर पाइने उनले बताए ।

करिब ८० लाख लागतमा निर्माण गरिएको उक्त बजारका सम्पूर्ण कोठाहरू भाडा लागिसकेको र धरानका मुख्य केन्द्रहरूमा यस किसिमको बजार सञ्चालन गर्ने योजना समेत रहेको रुद्र न्यौपानेले बताए ।