धरान : चितवन जिल्लाका पर्यटन व्यवसायीहरूले पर्यटकीय गन्तव्य सौराहामा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि धरानबाट ‘‘घुमौँ सौराहा”अभियानसुरू गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनको टोलीले शुक्रवार धरानको सन्ध्या इन होटलमा पत्रकार सम्मेलन गर्दै सौराहा घुम्न आउने पर्यटकलाई होटल र रेस्टुरेन्टमा कोरोना महामारी कायम रहुन्जेल २० देखि ४० प्रतिशत सम्म छुट दिइने घोषण गरेका छन् ।

पत्रकार सम्मेलनमा क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले कोभिड १९ का बेलामा पनि पर्यटन व्यवसायलाई चलायमान बनाउन असोज महिना देखी स्वास्थ्य प्रोटोकलको पुर्णरुपमा पालना गर्दै होटलहरु सौराहामा सञ्चालन गरिएको बताए । उनले सौराहा सुरक्षित पर्यटकीय क्षेत्र भएकाले ढुक्क भएर घुम्न आउन पनि आग्रह गरे ।

कोरोनाले शून्य बनेको पर्यटन चलायमान बनाउन, वन्यजन्तु र जैविक विविधता पर्यटनमा रमाउन र आन्तरिक पर्यटन आर्कसित गर्ने सन्देश दिँदै घुमौँ सौराहा अभियान देश दौडाह गर्दै सुरु गरेको भट्टराईले बताए ।

सङ्घका कोषाध्यक्ष माधव दवाडीले सौराहामा लकडाउनको समयमा झन्डै ८ महिना शून्यको अवस्था रहे पनि दसैँ तिहार पछि केही मात्रामा पर्यटक घुम्न आइरहेकाले हाल दैनिक १ हजारको हाराहारीमा पर्यटक आउने गरेको जानकारी दिए ।

लकडाउनको समयमा दैनिक ५० लाख आर्थिक क्षति व्यहोर्नु परेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सौराहा घुमौँ अभियान पहिलो पटक स्वदेशमा गरिएको र विगतका वर्षहरूमा भारतमा गरिएको बताउँदै यस पटक यो अभियान ७ वटै प्रदेशमा पुगेर अभियान चलाउने जानकारी पनि दिइएको छ ।