झापा : झापाको बिर्तामोडमा रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको आफ्नै सभा हलमा सञ्चालन भएको साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मी वाँस्कोटाको अध्यक्षता साथै बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लीराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथिद्वारा पानसमा वत्तिवालेर उद्घाटन गरिएको कार्यक्रम मिलनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका सचिव दिनोज बजगाईँले सञ्चालन गरेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष अजय देवले स्वागत गरेका थिए भने अध्यक्ष वाँस्कोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लीराम दाहालले बिर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरू मध्ये कारोबारको हिसाबमा दसौँ स्थानमा मिलनसार साकोस रहेको जानकारी गराउँदै बिर्तामोड नगरपालिकालाई कोरोना कहरको समयमा रु २५ हजार सहयोग उपलब्ध गराएकोमा प्रशंसा गरे ।

बाह्य कर्जा नलिएको मिलनसार साकोसलाई स्वरोजगार कर्जाकालागी आफूले पहल गर्ने बताउँदै प्रमुख अतिथि दाहालले कोपोमिसमा सहकारीको कारोबार देखाउने सहकारी विभागको निर्णय र कानुन बमोजिमका कामहरू यही महिनाबाट बिर्तामोडमा सुरुवात गर्ने जानकारी गराए । सहकारीहरू कोपोमिसमा समावेश भइसकेपछि सहकारीमा आम नागरिकहरूको दोहोरो सदस्यता नरहनेगरीको काम सञ्चालन हुने पनि प्रमुख अतिथि दाहालले जानकारी दिए ।

सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली सहकारी तथा तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित व्यवस्थापन सूचना प्रणाली हो । यसबाट गरिब घरपरिवार लगायत सहकारी संघ् संस्थाहरूको सूचना व्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुने जनाइएको छ ।

वि.स. २०६६ चैत १५ गते ४१ जना शेयर सदस्यहरूबाट चार लाख दश हजार रकम शेयर सङ्कलन गरी सुरु भएको सहकारीले यस आर्थिक वर्षमा शेयर रकम रु. १ करोड ५८ लाख ७४ लाख ५ सय बाट रु ४४ लाख ८६ हजार ३ सय वृद्धि गरी रु २ करोड ३ लाख ६० हजार ८ सय पुर्याउन सफल भएको छ ।

आ.व. ०७५/०७६ मा १५ करोड ५८ लाख १७ हजार १ सय ७३ रुपैयाँ निक्षेप सङ्कलन गरी १४ करोड ७० लाख ७९ हजार ३ सय ९५ रुपैयाँ निक्षेप फिर्ता गरी २ करोड ८६ लाख ६४ हजार ४ सय ५५ रुपैयाँ निक्षेप मौज्दात रहेको सहकारीले जानकारी दिएको छ भने आ.व. ०७६/०७७ मा ११ करोड ११ लाख ५७ हजार ९ सय ३५ रुपैयाँ निक्षेप सङ्कलन गरी ११ करोड ७ लाख २९ हजार ४ सय ४२ रुपैयाँ निक्षेप फिर्ता गरी २ करोड ९० लाख ९२ हजार ९ सय ४८ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ ।