पथरी : मोरङको पथरी शनिश्चरे नगरक्षेत्रमा दूध र मासुको आत्मनिर्भरताकालागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत भएको छ ।

सरकारको सशर्त अनुदानको कार्यक्रम अन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाका लागि दोस्रो चरणको प्रस्तावनाकालागि आज सम्बन्धित ६ संस्थाकालाई पत्र प्रदान गरिएको  छ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले पत्र प्रदान गरे सँगै ती संस्थाले दुग्ध तथा मासु उत्पादनमा कार्य गर्नेछन् । नगरलाई दूध र मासुमा आत्मनिर्भरता बनाउन कार्यक्रमले सहयोग पुग्ने सरोकारवालाको भनाइ रहेको छ ।

मासु उत्पादनका लागि वडा नम्बर १ को पूर्वी मोरङ बाख्रा पालन कृषक समूह, पथरी कृषि सहकारी संस्था र वडा नम्बर ५ को विशाल बहुउद्देश्यीय कृषक समूह तथा दूध उत्पादनका लागि वडा नम्बर १ को बिहानी कृषि दुग्ध उत्पादक सहकारी, २ को चौतारी सामाजिक उद्यमी महिला सहकारी र ६ को राम जानकी दुग्ध उत्पादक सहकारीले कार्यक्रम प्राप्त गरेका हुन् ।

आयोजनाले ६ संस्थाका लागि कुल ४ करोड ३० लाख ७५ हजार रकम उपलब्ध गराउने छ भनेँ त्यसमा थप २० प्रतिशत सम्बन्धित संस्थाले लगानी गर्नुपर्ने र ३० प्रतिशत वित्तीय संस्थाको लगानी जुटाउनु पर्ने प्रावधान रहेको आयोजनाका पशु सेवा सामाजिक परिचालक चूडामणि बस्नेतले जानकारी दिए ।

त्रिपक्षीय लगानी जोड्दा ८ करोड ६० लाख ४० हजारको कार्यक्रम बनेको नगरपालिकाका पशुपक्षी शाखा प्रमुख हेमचन्द्र दाहालले जानकारी दिए।