धरान : झुटो विवरणबाट नागरीकता बनाउन सिफारिस गरेको आरोपमा धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवाललाई जिल्ला अदालत सुनसरीले प्रहरीलाई पक्राउ गर्न आदेश दिएको छ ।

स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्रीलाई उमेर घटाएर झुटो विवरणमा सिफारिस दिएको र २०७५ साल माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरीकता निकालेको पाइएको छ । ती महिलाले उमेर समेत घटाएर धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेस गरी नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ ।

झुटो विवरण पेस गरेर नागरीकता निकाल्ने ती महिलालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुस २ गते दोहोरो नागरीकता र दोहोरो राहदानी भएको भन्दै पक्राउ गरेको थियो । पहिले स्याङ्जाबाटै नागरीकता निकालेकी ती महिलाको पछिल्लो नागरीकता सुनसरीको भएकोले पुस २ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

पक्राउ पछि सुनसरीबाट अर्को नागरीकता र राहदानी निकालेको पाइएकोले स्याङ्जा प्रहरीले इलाका प्रहरी कार्यालय धरान पठाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । पक्राउ परेकी महिलाको अहिलेको उमेर ३३ वर्षको भए पनि उनले २० वर्ष पुगेको नागरिक्ता निकालेकी थिइन् ।

उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएका थिए । वडा ९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेको खुलेको छ । धरान ३ वाट बसाई सरी गरी धरान ९ मा बसोबास रहेको विवरण सम्म भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पछि वडाध्यक्ष रत्नबहादुर कटुवाललाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले खोजी गरिरहेको वडाध्यक्ष कटुवाल प्रहरीको फरार सुचीमा परेका छन् । वडाध्यक्ष कटुवालको मोबाइल अहिले स्विच अफ छ ।

दोहोरो नागरिक्ता वाहक मञ्जु क्षेत्रीले जापानमा रहेका सेजवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

सेजुवाल दुई वर्षअघि जापानबाट नेपाल आएर धरान-९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएका थिए । सेजुवाल अहिले जापानमा रहेका छन् । पक्राउ परेकी मञ्जु क्षेत्रीसँग प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।