धरान : झुट्टा विवरण पेस गरी दोहोरो नागरिकता दिलाएको कसुरमा धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल सहित बाबु बन्ने, वडासचिव र नागरिकता दिने अधिकृत पनि अनुसन्धानमा तानिएका छन् ।

प्रहरी अनुसन्धानबाट तानिएकाहरूमा नागरिकता निकाल्दा बुबा बनेका हाल जापानमा रहेका अर्घाखाँचीका गोपाल सेजुवाल, धरान-९ का वडा सचिव रन्जु भुजेल र तत्कालीन इलाका प्रशासन कार्यालय धरानमा कार्यरत हाल धनकुटामा रहेका जयराम श्रेष्ठ रहेका छन् ।

प्रहरी अनुसन्धानबाट उनीहरूको पनि संलग्नता देखिएकोले अनुसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा बुझाइएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

अनुसन्धानको क्रममा धरान-३ वाट बसाई सरि धरान-९ आएको सम्मको कागजात फेला परे पनि मूल बसाइसराइको कागज जुन झुटो विवरण पेस गरेर धरान-९ वाट नागरिकता निकाल्ने मञ्जु क्षेत्रीको नभेटिएको प्रहरीले बताएको छ ।

सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाई सकेकोले आइतबार, सोमवार सम्ममा जिल्ला अदालतमा मुद्दा दर्ता हुने बताइएको छ ।

अनुसन्धानमा तानिएकाहरूलाई अदालतलेनै कारबाही तोकिदिने छ । उनीहरू मध्येमा झुट्टा विवरण पेस गरी नागरिकताको सिफारिस दिने वडाध्यक्षलाई नेपाल नागरिकता ऐन २०२८ अनुसार ३ देखि ५ वर्ष सम्म कैद सजाय हुनेछ ।

वडाध्यक्ष कटुवाललाई स्याङ्जामा मञ्जु क्षेत्री पक्राउ परेको थाहा पाएपछि उनी फरार भएको हुन सक्ने र त्यति बेला वडासचिवको रुपमा कार्यरत रन्जु भुजेल पनि अहिले सम्पर्क विहीन भएको प्रहरीले बताएको छ । अहिले धरान-९ कार्यवाहक वडाध्यक्षले कार्य सञ्चालन गरीरहेका छन ।

स्याङ्जाको वालिङ-३ घर भएकी मञ्जु क्षेत्रीलाई उमेर घटाएर झुटो विवरणमा सिफारिस दिएको र २०७५ साल माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरिकता निकालेको पाईएको छ ।

ती महिलाले उमेर समेत घटाएर धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेस गरी नागरिकता लिएको खुलेको छ । उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छिन।