झापा : केही दिन यता देखी झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुरस्थित एक विद्यालयका विद्यार्थीलाई राहत वितरण गरेका छन् ।

पूर्वराजा शाहले भद्रपुर-२ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गरेका हुन् । स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेका थिए ।

उनी बुहारी हिमानी र नाति हृदयेन्द्रलाई लिएर साबिक पृथ्वीनगर गाविस-९ स्थित गौरीशङ्कर गाउँमा शनिवार दिउँसो पुगेपछि उनीहरूलाई त्यहाँ स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।

पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरू त्यहाँ पुगेका हुन। हिमानी कोषबाट सिंहदेवी आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोसाक ज्याकेट र पोसिलो खानेकुरा र ३० जना विपन्न तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई जाडोको स्लिपिङ बेड वितरण गरेका थिए ।

महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजीकरण गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रका पिता महेन्द्रले भारत लगायत अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियान अन्तरगत २०२४ सालमा गाउँ फर्क अभियान सुरु गरेका थिए । पूर्वराजा महेन्द्रले पुर्नवास कम्पनीमार्फत साबिक पृथ्वीनगर गाविसमा वनजंगल फडानी गरी त्यहाँ बस्ती बसाएका थिए ।