दमक : सरकारको असंवैधानिक कदमविरुद्ध नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रतिकात्मक रेल सहित प्रदर्शन गरेको छ ।

काँग्रेस दमक नगर समितिको आयोजनामा भएको विरोध र्‍यालीमा प्रधानमन्त्रीले रेल र पानीजहाज ल्याउने ठुला ठुला कुरा गरेर चुनाव जितेको तर अहिले भ्रष्टाचारी र कालोबजारीहरूको संरक्षणमा लागी नागरिकलाई आहत पु¥याएको भन्दै प्रतिकात्मक रेलको प्रदर्शन गरिएको थियो ।

सिटी रिक्सालाई रेलको प्रतिकात्मक बनाई गरिएको प्रदर्शनमा नेता कार्यकर्ता, भातृ सङ्गठन र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनपछि दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार एकपछि अर्को असंवैधानिक कदम चाल्न उद्धत रहेकाले जनताका अधिकार कुण्ठित हुनुका साथै लोकतान्त्रिक व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरे ।

सभामा नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्व उपाध्यक्ष मेदनीप्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसद्को असमयमै अवसान गराएको जिकिर गरे।

काँग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा काँग्रेस विधि र नीतिमा अडिग रहेको नेता शर्माले उल्लेख गर्नुभयो । सो अवसरमा काँग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डिराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्टलगायतले पनि धारणा राखेका थिए ।

यस अघि गत पुस २५ गते दमक काँग्रेसले बयलगाडा सहित विरोध प्रदर्शन गरेको थियो ।