लन्डन : मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ ।
नेपाली समाजको सांस्कृतिक विविधतालाई साहित्यमार्फत उजागर गर्न महासङ्घले उत्सव गर्न लागेको हो ।

विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका अध्यक्ष विजय हितानले बताए । उनले जातीय बहु विविधतालाई सम्बोधन गर्दै सिर्जनामार्फत मातृभाषाको साहित्यलाई प्रवर्द्धन गर्न उत्सवले टेवा पुर्‍याउन बताए ।

शनिवार बसेको तेस्रो बैठकले सो कार्यक्रमको संयोजकका रूपमा सचिव अमित थेबेलाई तोकेको अध्यक्ष हितानले जनाए । उनले उत्सवमा मदन पुरस्कार विजेता एवम् केही समयअघि गठन भएको आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालका संयोजक राजन मुकारुङलाई प्रमुख वक्ताका रूपमा निम्तो दिइसकेको बताए ।

संयुक्त राष्ट्र सङ्घको विशेषज्ञ संस्था युनेस्कोको आह्वानमा सन् २००० यता प्रत्येक वर्षको फेब्रुअरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ ।

यसैगरी, बैठकले गत जनवरी ३ मा आयोजना गरेको मास्टर मित्र सेन थापा मगरबारे परिचर्चा कार्यक्रम अत्यन्तै सफल रहेको ठहर गर्दै आगामी वर्ष अझ व्यापक रूपमा आयोजना गर्ने बताएको छ ।

त्यसैगरी, आउने नोभेम्बर महिनामा १३ जना भिक्टोरिया क्रस पदक विजेता गोर्खाली सैनिकहरूलाई स्मरण गर्दै युद्ध साहित्य गोष्ठी समेत गर्ने सहसचिव लाहाङ चेम्जोङले जानकारी दिए । त्यस्तै, मार्च महिनाको अन्तिम शनिवार संस्थाको स्थापना दिवसका अवसरमा गीतकार गणेश पुनद्वारा लिखित ‘बाटो’ गीति सङ्ग्रहको समेत विमोचन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकसँगै नियमित साहित्यिक श्रङ्खला अन्तर्गत कृतिउपर समीक्षा गर्ने कार्यक्रम पनि सम्पन्न भएको अध्यक्ष हितानले बताए । उनका अनुसार गीतकार सेमन्त राईको गीत ‘उभौली’ माथि गणेश पुनले चर्चा गरे भने गीतकार सुष्मा रुपाबुङ राईको गीत ‘एउटा यस्तो प्रेम कहानी’ माथि औतारी साइलाले बोले ।

त्यस्तै, विश्वजीत थापाले निर्देशन गरेको लघु चलचित्र ‘अलिखित’ बारे अमित थेवेले समीक्षा गरे । बैठकले अन्य समसामयिक विषयहरू उपर समेत निर्णय गरेको सचिव थेवेले बताए ।