पथरी : विन्ध्यवासिनी फुटबल क्लब विराटनगर भुट्निज यूथ क्लब (बिवाईसी) बेलडाँगीलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आइतबारको खेलको ३४ औँ मिनेटमा आशिष चौधरीले विराटनगरका लागी गोल गर्दै अग्रता बनाएका थियो ।

५४ औँ मिनेटमा विराटनगरकै सुनिल खड्काले टिमका लागि दोस्रो गोल गरेपछि विराटनगर बलियो बनेको थियो । खेलको अतिरिक्त समयमा बेलडाँगीका विक्रम राईले टिमका लागि १ गोल गरे पनि बेलडाँगी पराजित भयो ।

विक्रम राईले प्रहार गरेको फ्रि-किक गोल रक्षक पूर्ण चेम्जोङबाट रिबाउण्ड हुँदा सोही अवसरको सदुपयोग गर्दै विक्रमले टिमका लागि सान्त्वना गोल गरेका हुन।

खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्नबाट चुकेका थिए । आजको खेलको मेन अफ द म्याच विराटनगरका अशोक खवास घोषित हुँदै नगद २ हजार ५ सय प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत भोलिको खेल (बिवाईसि) बेलडाँगी (बि) र धरान फुटबल क्लब बिच हुनेछ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार रुपैयाँमा जित्ने छ।