धरान : आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । 

मधेस आन्दोलन स्मृति दिवस मनाउन भन्दै प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । प्रदेश २ सरकार गठन भएपछि मधेस आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो ।

यस पटकको मधेस आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको छ ।
२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेस आन्दोलन उग्र बनेको थियो ।

यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेस बलिदानी दिवस मनाइँदै आएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार बनेपछि सरकार आफैँले मधेस आन्दोलन स्मृति दिवस मनाउन सुरु गरेको हो ।