धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरूले सरकारले तोके अनुसारको तलब पाउनु पर्ने लगायतको माग गर्दै हिजो देखि थालेको आन्दोलन आज पनि जारी राखेका छन् ।

सरकारले आठौँ तहका मेडिकल अधिकृतहरूको तलब ४५ देखि ५० हजार सम्म तोकेको भए पनि आफूहरूले अत्यन्तै न्यून तलब मात्रै पाएकोले तलब वृद्धि हुनुपर्ने, कोरोनाको महामारीमा खट्ने चिकित्सकलाई जोखिम भत्ता दिने भनेको भए पनि अहिले सम्म बीपीका हाउस अफिसरहरूलाई नदिएको, सातामा ३६ घण्टा काम गर्नुपर्नेमा बीपीमा बढी काम गर्नुपरिरहेको लगायतमा प्रतिष्ठानसँग पटक पटक माग गर्दा पनि माग पुरा नभएकोले फेरि आन्दोलन गर्नुपरेको डा. वीरेन्द्र मण्डलले बताए ।

हिजो देखि सुरु भएको आन्दोलनमा आज पनि बीपीको उपकुलपतिको कार्यालय अगाडी हाउस अफिसरहरूले धर्ना जारी राखेका छन् । उनीहरूले इमरजेन्सी बाहेकमा काम बहिस्कार गरेर आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो मागको प्रतिष्ठानले बेवास्ता गरे पर्सि बुधवार देखि इमरजेन्सी वार्डको डिउटी समेत बहिस्कार गर्ने सम्मको आन्दोलन तय भएको डा. मण्डलले बताए । यसका लागि उपकुलपतिलाई र इमरजेन्सी विभागमा समेत पत्राचार गरिसकिएको उनले बताए ।

हाउस अफिसरहरूको मागको सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने उनीहरूले बताएका छन् ।