बिर्तामोड : झापाको बिर्तामोडमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

विगत एक दशकदेखि नेतृत्व विहीन रहेको कृषि थोक बजारको नयाँ नेतृत्व चयनका लागि गत पुस २४ र २५ गते सम्पन्न निर्वाचनबाट आगामी ३ वर्षे कार्यकालकालागि कमल पौडेलको नेतृत्वमा ९ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन भएको थियो ।

आइतबार नवनिर्वाचित कृषि थोक बजार व्यवस्थापन समितिलाई शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख अतिथि रहेका थिए ।

कृषिथोक बजार स्थापनामा महत्त्वपूर्ण योगदान पुराएका समाजसेवी हर्कलाल गिरी विशेष अतिथि रहेको कार्यक्रम निवर्तमान बजार व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा रोल्ने क्रममा बजार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुराएका समाजसेवी हर्कलाल गिरीले बजार स्थापनामा आफूले खेपेको राज्यको दमन र स्थानीयको सहयोगका बारेमा चर्चा गरे ।

उनले विगतलाई भुल्ननहुने कुरा बताउँदै सञ्चालक समितिले इतिहासलाई नसम्झेको र कृषकहरुकालागी भनेर स्थापना गरेका स्थानहरू हाल नरहेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा रोल्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख सिवाकोटीले कृषि थोक बजार नयाँ संरचना स्थापना गर्दै अगाडि बढ्ने बताए ।

प्रमुख सिवाकोटीले बजारको सरसफाईलाई प्रमुख महत्वकासाथ अगाडि बढाउँदै कृषि थोक बजारको मूल्य र मान्यताका आधारमा ब्यवसायीहरुलाई साथ र सहयोग गरिने बताए ।