इटहरी : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राजा महेन्द्र शाहकै शैलीमा अगाडी बढेको बताएका छन् ।

सुनसरीको इटहरीमा पत्रकार भेटघाट कार्यक्रममा उनले ओलीले महेन्द्रले जस्तै ‘कु’ गरेका आरोप लगाए ।
संसद् विघटन गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ भएकोले सरकारले अन्तर्राष्ट्रिय महत्वका विषयमा काम गर्न नपाउने बताए ।

सरकारको कदमले संविधान माथि प्रहार गरेको भन्दै उनले गणतन्त्र र सङ्घीयता धरापमा पार्ने काम भएको धारणा राखे । संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकोले सर्वोच्च अदालतले यो निरङ्कुश कदमलाई सच्याउने उनको विश्वास छ ।

पार्टी भित्रको आन्तरिक विषयलाई संसद् सँग जोडेर गैर संवैधानिक र निरङ्कुश काम नगरेको यादवको आरोप छ । अधिकांश समय प्रधानमन्त्रीकै आलोचनामा खर्चिएका उनले पार्टीको आगामी रणनीति संविधानकै रक्षा भएको प्रस्ट पारे ।

विकास निमार्णमा लाग्नुपर्ने बेला बारम्बार राजनैतिक दलहरू सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको उनको भनाई छ । यस्ता स्वेच्छाचारी कदमलाई नियन्त्रण गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी सहित राइट टु रिकलको व्यवस्था गर्नुपर्ने यादवले बताए ।