विराटनगर : पर्सि बुधवारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।

प्रचण्ड-माधव समूहले मङ्गलवार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको दाबी गरिएको छ ।

बुधवार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । अघि ११ बजे देखि काँग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । कार्कीका अनुसार बैठक प्रदेशसभा सचिवालय भवनमा बसेको छ ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको बताए । उनले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।

‘म आफै उदयपुर आएको छु, बिहान बोलाइएको बैठकमा उपस्थित हुन नभ्याउने भएपछि स्थगित गरियो ।’ उनले भने ‘मुख्यमन्त्रीज्यूसँगको सल्लाह पछि भोली सम्ममा अर्को बैठक बोलाउँछौँ ।’

मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएका मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

नेकपा भित्रैको एउटा समूह कतै नखुले पछि ओली समूहको बैठक रोकिएको हो । ‘५–६ जना प्रदेश सांसद तटस्थ छन् कुनै बैठकमा नजाने भन्दैछन् ।’ ओली समूहका एक नेताले भने ‘ तयारीका लागि छलफल स्थगित भयो ।’

प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो मौसमले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे । ‘हामी बहुमत सदस्यको उपस्थितिमा बैठक बस्दैछौं ।’ उनले भने ‘ हाम्रो बैठक होटल एसियाटिकमा बस्दैछ ।’