धरान : झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन् ।

मोरङ रतुवामाई नगरपालिका ४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई २ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।

भारतीय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुवै जनालाई नियन्त्रणमा लिई उनीहरूलाई चेक गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी झापाको मेचीनगर नगरपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उपमहानगरपालिका १७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका २ का २८ वर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ३ का २० वर्षीय समीर तामाङ र २२ वर्षीय नवीन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमवार अपरान्ह ५ बजे बेलडाँगीबाट पक्राउ गरेको हो ।

यसै गरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्ध शान्ति गाउँपालिका ४ का २२ वर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझीलाई किरात चोकबाट पक्राउ गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का १५ वर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरी जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका ६ बाट पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।