धरान : इलाका प्रहरी कार्यालय धरानले पार्किङ स्थलमा राखेको मोटरसाइकल चोरी गरी मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउने एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ पर्नेमा धरान १५ बस्ने ३६ वर्षीय बन्धन लिम्बु रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पमा गत पुस २८ गते १५० सिसीको रातो कालो रङ्गको मोटरसाइकल चोरी भएको थियो ।

प्रहरीमा परेको निवेदन अनुसार उक्त मोटरसाइकलको खोजी गर्ने क्रममा सो मोटर साइकल चोरी गरी मोटरसाइकलको भाईजर समेतमा अर्को रङ्गको स्प्रे लगाई उक्त मोटर साइकलमा को १२ प ७५३८ नम्बरको स्टिकर टाँसेर चलाउँदै गरेको अवस्थामा लिम्बुलाई पक्राउ गरेको ओलीको भनाई छ ।

लिम्बु माथि सवारी चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले खुलेर मोटरसाइकल नचलाएको लुकिछिपी चलाएको चोरी गरेको रङ्ग परिवर्तन गरी मोटरसाइकल बेच्न लागेको र केही रकम समेत लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।