विराटनगर : प्रदेश १ को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बसेको नेपाली काँग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधवारबाट सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।

सत्तारुढ दलका दुवै समूहलाई सत्ता जोगाउन र भत्काउन नेपाली काँग्रेसको साथ चाहिन्छ । तर नेपाली काँग्रेस अन्योलमा छ ।

२१ जना सांसद रहेको नेपाली काँग्रेसको मङ्गलवार बसेको बैठकमा अन्यौलता देखियो । आगामी रणनीतिका बारेमा छलफल गर्न बसेको बैठक बुधवार पूनस् बस्ने गरी विना निष्कर्ष टुङ्गिएको छ ।

बैठकमा बोल्ने सांसदको मत बाझिएको थियो । बैठकमा बोलेका केही सदस्यले नेपाली काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने प्रस्ताव राखे । काँग्रेसले नेतृत्व गर्न नपाएको अवस्थामा राम्रो प्रस्ताव गर्ने समूहसँग मिल्नुपर्ने राय राखेका थिए ।

‘बैठकमा सांसदहरूले आफ्ना कुराहरू राख्नु भएको छ । समग्र विषयमा छलफल भयो । तर निर्णय भएन ’ नेपाली काँग्रेस प्रमुख सचेतक केदार कार्कीले भने ‘ प्रतिपक्षले ल्याउनुपर्ने प्रस्ताव सत्ता पक्षले नै ल्याएका छन् । सांसदमा टेबल भएपछि थप छलफल गर्छौँ ।’

कार्कीका अनुसार नेपाली काँग्रेससँग निर्णयका लागि अझै पर्याप्त समय छ । सत्तामा सहभागिताका लागि केन्द्रको निर्णय महत्त्वपूर्ण हुने उनले बताए । सात वटै प्रदेशको समीक्षा भएको बताउँदै उनले केन्द्रको निर्णयपछि आगामी रणनीति तय हुने बताए ।

प्रचण्ड माधव समूहसँग मुद्दा मिल्छ तर.....
नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला हतारिएर निर्णयमा पुग्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘अविश्वासको प्रस्तावले लामो प्रोसेस लिन्छ ।’ उनले भने ‘ छलफल गर्दैछौं । संसदमा टेबल नभई अगाडी बढ्न सक्दैनौँ । टेबल भएपछि एउटा कोर्स लिन्छौँ ।’

उनले नेपाली काँग्रेसले मुख्यमन्त्रीमा पनि दाबेदारी प्रस्तुत गर्ने बताए । ‘दुवै समूहसँग छलफल भइरहेको छ । वार्ताकका लागि सबै अप्सन खुला छ ।’ उनले भने ‘ केन्द्रसँग समन्वय गरेर ठोस निष्कर्षमा पुग्छौँ ।’

सरकारलाई सहयोग गर्न पनि काँग्रेसलाई गाह्रो भएको उनले बताए ।‘ हामी आन्दोलन गरिरहेका छौँ, आन्दोलनलाई वडासम्म लिएर जादैछौं ।’ उनले भने ‘ नेपाली काँग्रेसको दोहोरो चरित्र नदेखियोस् भन्नेछ ।’