विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड-माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद् बैठकमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

मङ्गलवार प्रदेशसभा सचिवालयमा बसेको अनौपचारिक बैठकले प्रचण्ड-माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

पार्टी विपरीत गतिविधि गरेको भन्दै भीम आचार्य, इन्द्रबहादुर आङ्बो सहित १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

नेकपाका प्रमुख सचेकतक बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका सांसदलाई संसदीय गतिविधिमा सहभागी नगराउने बताए ।

‘अनौपचारिक बैठकले निलम्बनमा परेका माननियहरुलाई संसदीय गतिविधिमा सहभागी नगराउने सहमति गरेको छ ।’ उनले भने ‘गतिविधिमा सहभागी भए प्रदेशसभा बैठक सञ्चालन हुँदैन ।’

यता प्रचण्ड-माधव समूहले निलम्बन गलत भएको आफूहरूले प्रवेश गर्न पाउनुपर्ने बताउँदै आएको छ । प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले निलम्बन मान्य नहुने र संसदीय गतिविधिमा सहभागिता जनाउने बताए ।