विराटनगर : प्रदेश १ को नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा पुगेको बेला आज प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ ।

नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेश सभा बैठकमा ओली पक्षद्वारा सांसदलाई प्रदेशसभामा रोक्ने तयारी रहेको छ । प्रचण्ड–माधव समूहको प्रदेशसभामा प्रवेशमा अवरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका छन् । यतिसम्म कि दुवै पक्ष एक–अर्काप्रति आक्रामक देखिएपछि प्रदेश सभा बैठक मुठभेडतर्फ जाने सङ्केत देखिएको छ ।

मुख्यमन्त्री सेरधन राईको अध्यक्षतामा मंगलबार पन पार्कमा बसेको अनौपचारिक बैठकले नै प्रचण्ड–माधव समूहका सांसद प्रदेशसभामा प्रवेशमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । ओली पक्षका दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ सांसदलाई संसद् बैठकमा प्रवेश गर्न रोक्ने बताइसकेका छन् ।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा उनी विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई निलम्बन गरेका थिए । तर उनको समूहमा अहिले ३० सांसद छन् । तीन जना थप सांसद त्यो समूहमा आउने र बहुमत पुग्ने दाबी प्रमुख सचेतक राजभण्डारीले गरेका छन् ।

प्रचण्ड–माधव समूहको नेता भीम आर्चायको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले शेरधन राई दलको नेताबाट हटाइसकेको अवस्थामा उनले गरेको कारबाही वैधानिक नहुने बताइसकेको छ । संसदीय दलको नेताबाट हटाएर राईको ठाउँमा भीम आचार्यलाई नेता चयन गरेको घोषणा गरिएको छ । तसर्थ प्रदेश सभामा प्रवेशमा ओली समूहले जोर–जबरजस्ती गरे प्रतिवाद गरिने निर्णय गरिसकेको छ ।

प्रदेश १ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को संसदीय दलको प्रचण्ड–माधव समूहले प्रदेश नंं। १ का मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य त्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

यसअघि दलका नेता एवं मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा र संसदीय दलमा अविश्वास प्रस्ताव पेस गरेको समूहले दलको नेतामा भीम आचार्यलाई चुनेको थियो ।
मुख्यमन्त्री राईले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–माधव पक्षका १६ सांसदलाई पनि निलम्बन गरेको घोषणा गरेका थिए । तर दुवै पक्षले एकले अर्कालाई गरेको कारबाही अवैधानिक भएको दाबी गर्दै आएको छ ।

आज अपरान्ह २ बजे आह्वान गरिएको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढ्दै गइरहेको अवस्थामा काँग्रेस भने तटस्थ बस्ने बताइएको छ ।