चतरा : नेपाली काँग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ वराहक्षेत्र नगर समितिका सचिव दिवानसिंह राईले आफूलाई थाहा नै नदिई जनता समाजवादी पार्टी नेपालको वराहक्षेत्र-४ वडा कमिटीको सचिव बनाएको स्पष्ट पारेका छन् ।

जनता समाजवादी पार्टी नेपालको वडा नं ४ कमिटीको सचिव बनेको फोटो र नाम सार्वजनिक भएको भोलि पल्ट राईले बुधवार सामाजिक सञ्चालन मार्फत सो कुरा स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन् 'मेरो बिना मन्जुरी, बिना जानकारी मलाई जनता समाजवादी पार्टीको बराहक्षेत्र -४ वडा समितिको सचिव राखियो । गठित नयाँ समितिका अध्यक्ष राजु बस्नेत दाइले मेरो नाम पार्टीको सचिवमा राख्दिनु भएको गलत सूचना विभिन्न पत्र पत्रीकामा मेरो नाम र तस्बिर सहित आएको हुनाले म यो कुरालाई अस्वीकार र असमर्थ छु ।'

सामाजिक सञ्जालमा आए जस्तो मेरो जनता समाजवादी पार्टीमा कुनै पनि सम्बन्ध र निकटता रहेको छैन ।

उनले सामाजिक सञ्जालमा आएको उक्त तस्बिर राष्ट्रीयगानको समयमा लिएको समेत स्पष्ट पारेका छन् ।

मङ्गलवार जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको उपस्थितिमा वराहक्षेत्र ४ मा १ सय २० भन्दा बढिलाई प्रवेश गराएका थिए भने वडा नं ४ कमिटी समेत गठन भएको थियो ।