धरान : फर्जी कृषि कम्पनी बनाएर सखुवासभाका किसानलाई ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सङ्खुवासभाको चैनपुर नगरपालिकामा ‘पोखरी ग्रुप अफ कम्पनी प्रा. ली.’ नामको कम्पनी खोलेर ठगी गर्नेहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार पक्राउ पर्नेमा धनकुटा छथर घर भएका रमेश भन्ने ३३ वर्षीय नरेन्द्र थापा, चैनपुरका ३ का ५६ वर्षीय चन्द्र बहादुर आले र ३६ वर्षीय मिलन भन्ने सुरेन्द्र राई रहेका छन् ।

केही वर्षदेखि चैनपुरमा काठको कारोबार गर्दै आएका नरेन्द्र ठगीका मुख्य योजनाकार रहेको प्रहरीले जानकारी दिएको छ ।

नरेन्द्र समूह विरुद्ध चैनपुर नगरपालिका-३ र ४ का १२ जना किसानले उजुरी गरेका थिए । किसानहरूले प्रहरीमा उजुरी दिएपछि भागेका नरेन्द्रलाई बाँके प्रहरीको समन्वयमा नेपालगन्जबाट पक्राउ गरेको हो ।

यो समूहले गाईपालन र दूध चिस्यान डेरी चलाउन साउदी अरेबियाको ‘अलदाना कम्पनी’बाट ५० प्रतिशत अनुदान आउँदै छ भनेर चैनपुरमा हल्ला समेत फैलाए । प्रहरीले कम्पनीको होर्डिङ बोर्ड, लेटर प्याड, छाप र नक्कली प्रमाणपत्र बरामद गरेको जनाएको छ ।

साउदी अरेबियाबाट ५० प्रतिशत अनुदान लिएर बाँकी ५० प्रतिशत लगानीमा चिस्यान केन्द्र, डेरी र गाई पालन सञ्चालनको नाममा उनीहरूले किसानसँग २० लाख रकम उठाएका पाइएको छ ।

नक्कली दर्ता प्रमाणपत्र देखाएर किसानलाई लोभमा पारी अवैध रूपमा कम्पनीको शेयर सदस्य बनाएको, भारतको पञ्जावबाट १ लाख पर्ने उन्नत जातका गाई ल्याएर दूध बेच्ने सपना देखाएर सो समूहले किसानलाई ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ठगीमा संलग्न आरोपीहरुलाइ जिल्ला अदालत सङ्खुवासभाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खतिवडाले बताएका छन् ।