उर्लाबारी : हाँस्दै खेल्दै जवान भएको छोरो एकाएक ह्विलचियरमा पुगे । श्रीमान् हाई ब्लड प्रेसरका कारण एक पाटो नचलेर ओछ्यानमा छन् । एउटी महिलाको ज्याला मजदुरीमा परिवारको प्राण अल्झेको छ । यो कहानी जस्तो लाग्ने घटना हो मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ४ चौबाटो चोक स्थित मिठुमाया अधिकारी भण्डारीको ।

वि.सं.२०५१ फाल्गुण २६ गते चौबाटो चोकका सन्तोष कुमार भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएकी मिठुमायाको पहिलो सन्तानका रूपमा २०५३ असोज २ गते छोरा सन्दीप भण्डारीको जन्म भयो ।

Mithumaya-1

परिवारमा खुसीयाली नै थियो । छोरा बिस्तारै बढ्दै थियो । विद्यालय भर्ना भई पढाई अगाडी बढाइरहेका थिए । पढाइमा पनि अब्बल सन्दीप जब कक्षा १० मा पढ्दै गर्दा एक्कासि ज्वरो आएर कमजोरी वने । कक्षा १० उत्तीर्ण गरेका सन्दीपले कक्षा ११ को पढाई सुरु गरे ।

एकातिर पढाई चलिरहेको थियो अर्कातिर सन्दीप बिस्तारै बिस्तारै आफू केही कमजोर भएको महसुस गर्न थाले । हिँड्दा पनि ब्यालेन्स नहुने, मदिरा सेवन गरेको मान्छे जस्तो जस्तो समस्या देखिन थाले सँगै उनी क्रमशः हलनचलको अवस्थामा पुगे ।

Mithumaya-4

आमा र बुबाको प्रयासमा विभिन्न हस्पिटलमा उपचार गराएर फर्किएका सन्दीप केही समय फेरी कलेज गए तर बिस्तारै बिस्तारै उनी पहिलेकै स्थिति अर्थात् शरीर नचल्ने अवस्था ह्विलचियर वाट अर्काको सहारामा भित्र बाहिर गर्नुपर्ने अवस्थामा पुगे ।

बुबा सन्तोष भण्डारीले छोरालाई बाहिर भित्र गराउँदै घरमै सके सम्मको थेरापी गराउँदै थिए । छोराको शारीरिक अवस्था नाजुक वने पछि चिन्तित वनेको परिवारमा एक्कासि अर्को बज्रपात भयो ।

एक दिन पथरी वाट बाइकमा घर फर्कने क्रममा बाटोमै दुर्घटनामा परेका सन्तोषलाई काठमाण्डौको टिचिङ हस्पिटलमा उपचारकालागी लगिएको थियो । उपचारमा लगिएको २८ दिन पछि होसमा आएका सन्तोषको अन्ततः शरीरको दाहिने पाटो नचल्ने सँगै वोलि पनि प्रस्ट नहुने विक्षिप्त आस्थामा पुगे ।

नेपाल सेनाको जागिर छाडेर विदेश गएका बुबाले कमाएको सबै पैसा पनि सकियो अहिले खायो भरै के खाऊँ भन्ने अवस्थामा छौँ छोरा सन्दीपले रुँदै सुनाए । बुबालाई एक पटक सामाजिक अभियान्ताहरुको पहलमा सहयोग जुटाएर उपचारको प्रयास त भयो तर सम्भव नभएपछि घरमै हुनुहुन्छ उनले सुनाए ।

उनी भन्छन् मैले राम्रो उपचार पाएँ भने मेरो परिवार म एक्लै हेर्ने थिएँ । मेरो ऊर्जावान् समय ह्विलचियरमै वित्दैछ । कहीँबाट सहयोग जुट्न सके मेरो उपचार सम्भव हुने थियो ।

वास्तवमा सन्दीपलाई घाँटीको पछाडिपट्टिको नसामा समस्या रहेको डक्टरको भनाई उद्धृत गर्दै आमा मिठुमायाले सुनाइन । उनी भन्छिन् श्रीमानको त उपचार सम्भव छैन छोराको चाहिँ उपचार सम्भव भए पनि पैसाको अभावका कारण रोई रोई दिनहरू कटाइरहेकी छु ।

भान्सामा खाने कुरा पनि छैन अलिकति चामल भएको बोरा देखाउँदै उनले भनिन ुबिरामीलाई पुगेर रहेको मात्र हामी खान्छौँ । मिठुमायाको परिवारमा एक छोरी पनि छिन कलेज पढ्दै दैनिक ज्यालामा एउटा सानो विद्यालयमा काम गर्छिन् । उनको कमाइले आफ्नो पढाइ खर्च समेत धान्न मुस्किल छ मिठुमायाले सुनाइन् ।

परिवारमा कमाउने मान्छे नहुँदा यति वेला मिठुमायाको परिवारमा ग्रहण लागेझैँ भएको छ । घरको एउटा कोठामा पकाउने, खाने र सुत्ने अवस्थामा मिठुमाया कष्टपूर्ण जीवन बिताउन बाध्य छिन् । मनकारी मनहरूको खाँचो यति वेला मिठुमायालाई परेको छ ।

सामाजिक अभियान्ताहरको सहयोग जुट्न सके मिठुमायाको जीवनले नयाँ मोड लिने थियो । मनकारी मनहरूले मिठुमायाको फोन नम्बर ९८१६३३०३३२ मा सम्पर्क गरेर सहयोग गरे मिठुमायाको जीवनको घाउमा थोरै भए पनि मलहम पट्टी हुन सक्ने थियो ।

Mithumaya-3