धरान : नेपाल सरकारको पहलमा भारत सरकारले अनुदान स्वरूप उपलब्ध गराएको १० लाख मात्राको कोरोना भाइरस विरुद्धको खोप आज काठमाडौँ आइपुग्दै छ ।

११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण सङ्कलन गरिसकेको जनाएको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

भारतबाट अनुदानमा आएको कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई डोजमा दिइन्छ । ‘प्रत्येक व्यक्तिलाई दुई डोजमा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एक पटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप पाखुरामा लगाइन्छ ।

खोप लगाउने ठाउँमा खोप लगाइसके पछि सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । खोप लगाइएको व्यक्तिमा कुनै समस्या देखिए सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

आज आई पुग्ने खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । सरकारले खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।