धरान : संसद् विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरूमा वडा स्तरीय प्रदर्शन गर्न लागेको छ ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली काँग्रेसले पुस १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरूमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरूलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेसले संसद् विघटनलाई संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै आएको छ ।

यसैक्रममा धरान उपमहानगरपालिकाका २० वटै वडामा काँग्रेसले प्रदर्शन गर्दैछ । धरानका सबै वडाहरूमा आन्दोलनको स्वरूप देखिने गरी घरदैलो अभियान, मोटरसाइकल र्‍याली, कोणसभा, पैदल हिँडेर वडा परिक्रमा लगायतका कार्यक्रमहरू गर्दै गरेको नेपाली काँग्रेस नगर समितिका सचिव श्याम पोखरेलले जानकारी दिए ।