विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले विप्लव समूहका मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ ।

श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिवि सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कायालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार हिजो मोरङको बुढीगंगा गाउँपालिका- ४ बाट ३२ वर्षीय विक पक्राउ परेका हुन् ।

शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची कोसी ब्यूरो सदस्य थिए । ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान हत्या भएको थियो । हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए । मोरङका दुई सहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार विप्लव समूहले पछिल्लो केही दिनयता उद्योगी व्यावसायीलाई चन्दा माग्दै धम्की दिदै आएको थियो । विक भने चन्दा संकलन गर्न आउँदै गर्दा पक्राउ परेका हुन् ।

बुढीगंगा गाउँपालिका-४ मा रहेको एक उद्योगमा चन्दा संकलन गर्न आएको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ ।

‘चन्दा माग्दै धम्की दिने गरेको सूचना आएपछि सतर्कता अपनाएका थियौं ।’ प्रहरी उपरीक्षक खड्काले भने ‘शंकास्पद व्यक्ती पक्राउ पक्राउ परे, सोधी खोजी गर्दा शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको खुल्यो ।’ उनका अनुसार शिक्षक श्रेष्ठको हत्या पछि विक मोरङ जिल्ला इन्चार्ज तोकिएका थिए ।

पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोली बरामद भएको छ ।
त्यस्तै चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि भेटिएको थियो ।

तीनवटा मोवाइलमा प्रयोग भएको अवस्थामा ६ वटा सिम र पर्समा बोकेको अवस्थामा पाँचवटा सिम बरामद भएको खड्काले बताए । प्रहरीले विक सवार को २४ प ४००५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

२३ मंसिरमा घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या भएको थियो । हत्या पछि उनको परिवार बिस्थापित भएको छ ।