पथरी : सन्तोष न्यौपाने प्रेरित खेलमा योङ ब्रदर्स सिरिजङ्गा फुटबल क्लब इलामले बिहीबारको खेलमा आयोजक वाइएफसि लाई ७-० गोल अन्तरले पराजित गरेको छ।

न्यौपाने एक्लैले ५ गोल गर्दा आयोजक फराकिलो अन्तरमा पराजित हुन पुगेको हो । पाचौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको बुधबार खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन्तोषले १८ औँ, ३३ औँ, ४९ औँ,६५ औँ र ६९ औँ मिनेटमा गोल गरे ।

सन्तोषले पहिलो गोल प्रताप चेम्जोङको पासमा गरेका थिए । टिमका लागि दोस्रो गोल भने सिरिजङ्गाका दिल कुमार याक्सोले खेलको २१ औँ मिनेटमा गरे। उनले आयोजक वाईएफसीका गोल रक्षक सुवास तामाङलाई विट गर्दै गोल गरेका हुन।

सिरिजङ्गाका लागि तेस्रो र चौथो गोल सन्तोषले गरे भने पाँचौँ गोल सनम धिमालले गरे। सन्तोष न्यौपानेले खेलको ६५ औँ र ६९ औँ मिनेटमा समेत थप २ गोल गर्दै व्यक्तिगत ५ गोल सहित ७-० को फराकिलो गोलान्तरले टिमलाई सम्मानजनक जित दिलाए।

खेलको २४ औँ मिनेटमा आयोजक टोलीले पाएको पेनाल्टी प्रहारको समेत सदुपयोग गर्न नसक्दा आयोजक वाईएफसीले गोलको खातासम्म खोल्न सकेन।

आयोजक टिमका कृष्ण राईले गरेको पेनाल्टी प्रहारमा सिरिजङ्गाका गोलरक्षक विशाल दर्लामी मगर बाधक बनेपछि आयोजकले गोल गर्न सकेन ।

आजको खेलको मेन अफ द म्याच विजेता टोलीका लागि ५ गोल गरेका सन्तोष न्यौपाने घोषित हुँदै २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे।

प्रतियोगितामा शुक्रवारको क्वाटर फाइनल अन्तर्गतको पहिलो खेल टेन नवोदय फुटबल क्लब पथरीशनिश्चरे र धरान सिटी एकेडेमी, धरान बिच हुनेछ।