धरान : मोरङको मिक्लाजुङ-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका डिबि सिलवाल भनिने धनबहादुर विकलाई हत्या मिसन सफल बनाएको भन्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा उनी अहिले प्रहरीको हिरासतमा छन्।  प्रहरीका अनुसार सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मङ्सिर २३ गते हत्या हुँदा संखवासभा धनबहादुर मेची कोसी ब्युरो सदस्य थिए ।

हत्या भएको २० दिनपछि विप्लव समूहको मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी धनबहादुरलाई दिएको पाइएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

विप्लव समूहले हत्याको मिसन गोप्य ढङ्गले सफल पारेको, प्लान कहीँ कतैबाट फेल नखाएको र विज्ञप्ति निकाल्दा पनि प्रहरीले सुइँको नपाएको, क्रान्ति तथा राजनीति योग्य व्यक्ति रहेको भन्दै सदस्य रहेका धनबहादुरलाई मेची-कोसी ब्युरोका इन्चार्ज रहेका पूर्व प्रताप भनिने थमन सिंह राईले जिल्ला इन्चार्ज तोकेका थिए ।

प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाइ विकले गरेको पूर्ण रूपमा सनाखत भएको छ । बुढीगंगा गाउँपालिकामा चन्दा असुलेको विषयमा पक्राउ परेका ३२ वर्षीय धनबहादुरको थप अनुसन्धानका क्रममा डिबी नाम थाहा पाएपछि मात्र हत्यामा संलग्न खुलेको हो ।

श्रेष्ठको हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अन्य ५ जना फरार रहेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानमा अधिकृत पपु नायकको टोली खटिएको थियो ।

धनबहादुरको साथबाट अटोमेटिक पेस्तोल, म्यागेजिन र तीन राउन्ड गोली बरामद भएको थियो । उनलाई जिल्लाबाट हातहतियार खरखजना कसुरमा ५ दिन म्याद थपेको छ ।

धनबहादुरको साथमा ११ वटा सिम कार्ड पनि भेटिएको उक्त सिम परीक्षण गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेका धनबहादुरलाई उर्लाबारीमा कर्तव्य ज्यान मुद्दा चलाउने तयारी समेत गरेको बताइएको छ ।

प्रहरी प्रमुख खड्काले कपुरी न्युजसँग भने 'घटनाको प्रारम्भिक अनुसन्धानमा छौ, विप्लव समूहले हत्या स्वीकार गरी निकालेको विज्ञप्ति पनि आधिकारिक छैन, अनुसन्धान गोप्य ढङ्गले गरिरहेका छौ, प्रत्यक्षदर्शी समेत प्रहरीको सम्पर्कमा आएकाले सजिलो भएको छ ,

'अनुसन्धानमा डेभलपमेन्ट हुँदैछ तर, अनुसन्धानका सबै कुरा सार्वजनिक गर्दा अनुसन्धानमा नै खलल पुग्ने भएकाले गोप्य राखेका छौ । उनले फेरी थपे 'हामी सक्रिय भएर लागेका छौ, मुख्य मान्छे नियन्त्रणमा लिएका छौ रिजल्ट छिटै आउँछ ।'

घटनामा संलग्नहरू पहिचान छन् तर,भूमिगत भएकोले पक्राउ गर्न असहज भएको बताउँदै खड्काले भने ’मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते लगायत घटनास्थल एवं आसपासका क्षेत्र र छिमेकी जिल्ला लक्षित विशेष सर्च अप्रेसन चलाउँदै निगरानी बढाएका छौ ।’

घरबाटै अपहरणमा परेका शिक्षकलाई प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन। प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको थियो ।

२०७६ सालमा धनबहादुर हातहतियार सहित ४ चोटी पक्राउ परेका थिए । भने एक पटक अभद्र व्यवहारमा पनि पक्राउ परेका हुन।

प्रहरी प्रधान कार्यालयबाट उपलब्ध भएको पक्राउ विवरण :

bobaran-dhan-bahdur