विराटनगर : प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा हिजो भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २–०१– ह ०७७४ नम्बरको ट्याम्पो एक आपसमा ठोक्किँदा घाइते भएका ट्याम्पो चालक स्थानीय २६ वर्षीय हेमराज राईको बि।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसै गरी सुनसरीको कोशी गाउँपालिका २ मा को ११ प ९९५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटर साइकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका ११ का ३० वर्षीय रञ्जित सरदारको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिन वटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।