झापा : मदन भण्डारी फाउन्डेसन गौरादह नगर समितिद्वारा झापाको गौरादह १ पिपल चोकमा रहेको श्री लाल जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष तथा गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्गराज थापाले आफ्नो जन्म दिनको समेत अवसर पारी कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा संविधान सभा सदस्य दीपक कार्की प्रमुख अतिथि रहेका थिए भने नेकपा झापा अध्यक्ष चिन्तन पाठकको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको समन्वय गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी र वडा सदस्य देवी माया श्रेष्ठले गरेका थिए ।

नगरपालिकाको १ नम्बर वडामा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको आर्थिक अवस्था समेत कमजोर रहेका कारण पनि ती बिद्यार्थीहरुलाई समस्या पर्दा हरेक कोणबाट फाउन्डेसनले सहयोग गर्ने कार्यक्रममा सहभागीहरूले प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा नेकपा जिल्ला कार्यालय सचिव शिव ढुङ्गाना, जागरूक महिला सङ्घ अध्यक्ष तथा सामाजिक अभियन्ता गङ्गा कार्की लगायत फाउन्डेसनका सबै पदाधिकारीहरूसँगै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।