पथरी : सरकारमा रहेर काम गर्नुपर्ने बेलामा सडकमा गएर 'हामी यता छौँ ' भन्दै तमासा देखाउनेहरूको स्थान सडक नै रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

मोरङको पथरीमा केपी ओली पक्षीय राष्ट्रिय युवासंघ गरेको कार्यक्रमको सम्बोधन गर्दै मन्त्री ढकालले नेपाल-दाहाल समूहले सडकमा नचाहिँदो तमासा देखाएको आरोप लगाए ।

सरकारमा रहेर काम गर्न नदिई घेराबन्दी गर्ने, निर्वाचनमा जान पनि डराउने परिवारवादमा लागेका दाहाल-नेपाल समूहलाई मत परिणामले देखाउने ढकालले बताए ।

कुर्सी मोहका कारण सडकमा पुगेका दाहाल नेपाल पक्ष कहिले पनि सरकारमा आउन नसक्ने ढकालले ठोकुवा गरे ।

आफ्नो निर्वाचन क्षेत्रबाट दिएको मतको सधैँ कदर गर्ने बताउँदै ढकालले आफू कानुन, स्वास्थ्य मन्त्री हुँदा ताका गरेका कामको पनि फेहरिस्त सुनाए । आउने निर्वाचनको पूर्व तयारी नै रहेको बताउँदै सबै कार्यकर्ताहरूलाई तयारी रहन समेत ढकालले अनुरोध गरे ।

संसद् विघटन गर्नु संवैधानिक रहेको जिकिर गर्दै ढकालले ताजा जनादेशमा जानुपर्ने बताए । कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले मगर, युवासंघ केन्द्रीय अध्यक्ष रमेश पौडेल, युवासंघ पूर्व राष्ट्रिय उपाध्यक्ष पर्शुराम बस्नेत, मोरङ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य विनोद ढकाल लगायतले कार्यक्रममा सम्बोधन गरे ।

कार्यक्रम युवासंघ पथरी शनिश्चरे अध्यक्ष नविनजंग कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।