धरान : एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र धरान उपमहानगरपालिका बिच छलफल भएको छ ।

आज धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सहित साबिक विष्णुपादुका गाविस हाल धरान २०, साबिक पांचकन्या हाल वडा नं. ४, ५, ६ र धरान १३, १४ का स्थानीय खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू लगायतसँग बसेको बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापनको विषयमा आयोजनाको टोलीसँग छलफल गरेको हो ।

उल्लेखित वडाहरूमा उपभोक्ता समिति मार्फत खानेपानीको सशुल्क व्यवस्थापन भइरहेको छ । आयोजनाका तर्फबाट चक्रपाणि शर्माले ठुला सहरहरूमा व्यवस्थित ढल सहितको एकीकृत खानेपानी आयोजना नेपाल सरकारको प्राथमिकतामा रहेको जानकारी गराए ।

उनले स्थानीय सरकारको तर्फबाट औपचारिक रूपमा आयोजनाको ढाँचामा आयोजनाको माग गरे । आयोजनाको तर्फबाट सकारात्मक निर्णय हुने र परामर्शदाता नियुक्ति गरी अध्ययन सुरु गर्न सकिने बताए । आयोजनाले आयोजनाको ढाँचामा हालसम्म औपचारिक निर्णय सहितका उपमहानगरपालिकाको चिठ्ठी प्राप्त नभएकोले ढाँचामा औपचारिक पत्र पठाउन नगर प्रमुखलाई कार्यक्रमको दौरान आग्रह गरे ।

छलफलमा उपमहानगरपालिकाका प्रमुख राईले धरानमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गर्न आवश्यक रहेको बताए । मन्त्रालय, आयोजनासंग औपचारिक रूपमा छलफल गरी यसको लगानी, व्यवस्थापन प्रक्रियाको बारेमा औपचारिक जानकारी लिई धरानका सबै सरोकारवालासँग छलफल गरेर मात्र अध्ययन गरिने नगर प्रमुख राईले बताए ।

प्रमुख राईका अनुसार यस विषयमा आवश्यक जानकारी लिई सरोकारवाला उपभोक्ता, राजनीतिक दलसँग परामर्श गरी रित पूर्वक पत्राचार गरेपछि मात्र औपचारिक रूपमा छलफल हुनेछ ।

छलफलमा उपप्रमुख भण्डारीले धरान उपमहानगरपालिकामा ७८ वटा खानेपानी उपभोक्ता समिति रहेको बताउँदै नीतिगत रूपमा धरानमा एकीकृत आयोजना आवश्यक रहेको बताए ।

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख चक्रपाणि शर्मासहितको टोली सरकारको प्राथमिकतामा रहेको विभिन्न सहरको अध्ययन भ्रमण गरी धरान आइपुगेका थिए ।