धरान : कोरोनाको कोलाहलले त्रसित धरानवासी घर भित्रै थुनिएको बेला उनी पनि कहीँ कतै गएकी थिइनन् ।

पछिल्ला दिनमा काठमाडौँ जानेले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने नियम लागु भएकोले श्रीमान् सँगै उनी पिसिआर परीक्षण गराउन वीपी प्रतिष्ठान गाइन् ।

२०७७ जेठ ७ गते धरान–१३ शिवधारीका महिला उनको रिपोर्ट भने कोरोना पोजेटिभ आयो । श्रीमानको रिपोर्ट नेगेटिभ आए पनि उनी भने धरानमा पहिलो कोरोना संक्रमित महिला बनिन् ।  

कहीँ कतै नगएकीले उनको ट्राभल हिस्ट्री थिएन । श्रीमानको समेत नेगेटिभ रिपोर्ट भएपछि उनीबाट कसैलाई कोरोना सरेको शङ्का भएन ।

तर धरानमा पहिलो पटक कोरोना देखिएको कुराले ठुलो हल्लीखल्ली भयो । सबैको ध्यान उनीमाथि गयो । स्वास्थ्य प्रोटोकल अनुसार उनलाई अस्पतालमा लानुपर्ने थियो । तर अस्पताल लैजान समेत धरानका कुनै पनि एम्बुलेन्स तयार भएनन् । 

कोरोना सङ्क्रमण पुष्टि भएको ४८ घण्टा पछि मात्रै बल्ल उनलाई लिन एम्बुलेन्स आयो । धरान–१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले भने ‘सङ्क्रमितलाई अस्पताल लैजान एम्वुलेन्सहरु नै तयार नभएको सुनेपछि उहाँलाई हिँडाएरै लैजाने तयारीमा थिएँ ।’ कोरोना कालमा यस्तो घटना भएको ८ महिना बितिसकेको छ । 

यस अवधिमा कोभिड–१९ कोरोना भाइरसबाट धरानमा अहिले सम्म ३ हजार ६ सय जना संक्रमित भइसकेका छन् । संक्रमित मध्ये ७६ जनाको मृत्यु भएको छ । ३५ सय बढी कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल धरानमा १० जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सरकारले कोरोना सङ्क्रमण रोकथाम गर्न २०७६ चैत ११ देखी देशव्यापी लकडाउन घोषणा गरेको थियो । 

लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरिखानेहरूलाई धरान उपमहानगरपालिकाले राहत वितरण गरेको थियो । अहिले सम्म सुनसरी जिल्लाका अन्य नगरपालिकाको तुलनामा धरान सबै भन्दा धेरै कोरोना संक्रमित भएको नगर  भएको छ । सङ्क्रमणदर अनुसार धरानमा मृत्यु पनि धेरै भएको मानिन्छ । 

सङ्क्रमणबाट पहिलो मृत्यु :
धरानमा पहिलो कोरोना संक्रमित देखिएको ३ महिना पछि २०७७ भदौ ३ गते धरान–१५ निवासी ६७ वर्षीय चन्द्रमाया श्रेष्ठको कोरोनाको कारण मृत्यु भयो ।

सङ्क्रमणबाट मृत्यु हुने उनी पहिलो महिला भइन् । उनको बीपी प्रतिष्ठान स्थित कोभिड–१९ अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । शव व्यवस्थापनमा संलग्न नेपाली सेनाले उनको शव धरान–८ चार कोशे जङ्गलमा समाधिस्थ गर्‍यो  । 

मेयर तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठका अनुसार मृतकको आफन्तले चिन्न सकोस् भनी मृतकहरूको चिहान माथि सिमेन्टमा नाम ठेगाना र उमेर सहितको स्ल्याब राखिएको छ ।

उक्त घटना लगत्तै धरानमा कोरोनाले मृत्यु हुनेको शव आफन्त लाई हेर्न समेत दिँदैनन् भन्ने कुराले सर्वसाधारणमा थप तनाव बढायो । त्यसै बेला अस्पताल लगेको कोरोना सङ्क्रमितको मिर्गौला निकालेको अङ्गभङ्ग गरेको हल्ला सामाजिक सञ्जालमा फैलिरहेको थियो ।  

उपमहानगरपालिकाको भूमिका :
कोरोना संक्रमणदर बढिरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड व्यापक प्रचार भए पनि धरानमा लकडाउन उलङ्घन भइरहेका थिए ।

सर्वसाधारण खुल्ला हिडडूलले सुरक्षा उपाय बेवास्ता गरेको देखिन्थ्यो । यसै बिच धरानमा कोरोना संक्रमणदर उच्च बन्दै गएको हो । लकडाउन खुकुलो भएकै बेला धरान–८ औद्योगिक क्षेत्र स्थित  प्रीति भल्व एण्ड फिटिङ्सका कर्मचारीमा कोरोना देखियो । लगत्तै धरान–८ कै जिम हलमा जिम गर्नेहरूमा कोरोना सङ्क्रमण देखियो ।

सङ्क्रमणको विस्तारले कोरोना समुदायमानै फैलिएको आशङ्का बढ्यो । यो आशङ्का लाई गम्भीर विषयको रूपमा लिएर उपमहानगरपालिकाले समुदाय तहमै कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो।

त्यसै बेला उपमहानगरपालिले तत्काल पाँच हजार पाँच सय थान भिटिएम खरिद गरी तत्काल पीसिआर परीक्षण शुरु गरेको हो ।

धरानका २० वटै वडामा पुगेर समुदायका ६ सय जनाको पिसिआर परीक्षण गर्ने लक्ष लिएकोमा १ हजार भन्दा बढीको परीक्षण गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् । 

धरान बाहिरबाट आएकाहरूलाई उपमहानगरपालिकाले अनिवार्य क्वारेनटाइन बस्नुपर्ने व्यवस्था गर्‍यो । धरान–१३ को सैनिक आवसिय विद्यालयमा ६२ बेड, त्यसैका लागि सञ्चालन गरियो ।

उक्त क्वारेनटाइन बन्द भई धरान–१७ स्थित एन्फा एकेडेमीमा ६१ बेड स्वास्थ्यकर्मी सहितको क्वारेनटाइन सञ्चालन गरियो । पछिल्लो समय अस्पतालमा बेड अभावको कारण एन्फा लाई आइसोलेसनमा परिणत गरियो । 

सङ्क्रमण बढ्ने सम्भावित परिमाणको अनुमान गरेर उपमहानगरपालिकाले धरान– १९ लाङघाली सामुदायिक बनमा आइसोलेसन सञ्चालन गर्ने निर्णय गरी तयारी गरेको थियो ।

तर त्यहाँ कुनै पनि कोरोना संक्रमित राखिएन । अहिले सम्म उपमहानगरपालिकामा रहेको तथ्याङ्कमा आरडिटी टेस्ट ५५८ जना, आर–टिपीसीआर टेस्ट ६,४५६ जना र आर–एटी टेस्ट ३७ जनाको गरिएको पाइन्छ । त्यस मध्ये ३ हजार ६ सय बढी कोरोना संक्रमित पुष्टि भएको पाइएको हो । 

PCR-Test-Priti-1

मृतकहरू दिर्घरोगी : 
सङ्ख्यात्मक रूपमा सुनसरी जिल्लामा सबै भन्दा धेरै संक्रमित धरानमा मृत्यु भएको देखिएको छ । सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या अहिले सम्मा धरानका ७६ जना पुगेको तथ्याङ्क छ ।

मृत्यु हुनेहरूमा ३० वर्ष देखि माथिका छन् । उनीहरू कोरोना सङ्क्रमण हुनअघि दीर्घ रोगी भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्ता दिर्घरोगमा मुटुको रोग, मधुमेह, क्यान्सर, दम तथा श्वास प्रश्वास रहेको बताइएको छ । 

धरानमा कोरोना सङ्क्रमणको लक्षण :
धरानमा कोरोना सङ्क्रमणको लक्षणमा कुनै कुनैलाई कुनै लक्षणहरू नदेखिएको, स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, टाउको दुख्ने, घाटी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रिँगटा लाग्ने, वान्ता हुने, पखला लाग्ने, शरीरमा डाबर आउने र रुघा लाग्ने जस्ता लक्षणहरू देखिएको थियो ।  

सकारात्मक पक्ष :
धरानमा कोरोना महामारी बढेका बेला उपमहानगरपालिकाले केही सकारात्मक भूमिका खेलेको छ । सङ्क्रमण बढेपछि समुदाय स्तरमै कोरोना परीक्षण गरेर पहिले सार्वजनिक दायित्व निर्वाह गर्न पछि परेन ।

सङ्क्रमितहरूलाई अस्पताल सम्म पुर्‍याउन उपमहानगरपालिका बाटै २ वटा आपतकालिन एम्बुलेन्स सञ्चालन गरिएको थियो ।

Sanitaige
धरान उपमहानगरपालिकाले जोखिम क्षेत्रहरुमा दमकलबाट स्यानिटाईज गर्दै

एउटाले कोरोना सङ्क्रमितलाई मात्र बोक्ने, अर्को कोरोना आशङ्का गरिएकालाई मात्रै बोक्ने निःशुल्क एम्बुलेन्सको व्यवस्थाले नगरपालिका त्यस बेलाको सम्वेदशीलताप्रति उत्तरदायी देखियो ।

उपमहानगरपालिकाकै कोषबाट भिटिएम खरिद गरेर परीक्षणको दायरा बढाई वडा वडामै सङ्क्रमणको आशङ्का गरिएका नगरबासीहरुको स्वाब सङ्कलन गरेर उनीहरूलाई आश्वस्त गराउने काम गर्‍यो ।

वडाहरूमा सङ्घ संस्थाहरू सँग सहकार्य गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार हात धुने ठाउँको व्यवस्था गरियो । अनिवार्य मास्क लगाउने अभियान चलाइयो । स्यानिटाइजर बनाउन सिकाउने तालिमका साथै सम्भावित जोखिम क्षेत्रहरूमा स्यानिटाइजर गरियो ।

यसले स्थानीय समुदायमा कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनु पर्ने चेतना बढाउने निर्णायक काम गर्‍यो । 

नगर प्रमुख तिलक राईका अनुसार उपमहानगरपालिकाको २०७६ चैत देखि २०७७ ज्येष्ठ सम्म १३ स्थानमा हेल्प डेस्क सञ्चालन गरी सङ्क्रमितको ट्रयाकिङ गरेको थियो ।

त्यस्ता डेस्कहरू धरान प्रवेश गर्ने नाकाहरूमा पानमारा, हरियाली, तीनकुने र रेल्वेमा राखिएका थिए । थर्मलगन र स्यानिटाइजर सहित स्वास्थ्यकर्मी डेस्कमा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको थिए ।  

केही नकारात्मक कुरा  :
धरानमा कोरोना सङ्क्रमण बढेपछि अस्पतालमा बेड अभाव खट्कियो । धेरैलाई होम आइसोलेसनमै राख्नु पर्‍यो। सङ्क्रमितहरू घर घरमै बसेकाले उपमहानगरपालिका स्वास्थ्य महाशाखाले राम्रो निगरानी गर्न सकेन ।

होम आइसोलेसनका सङ्क्रमितहरू घर बाहिर हिँडडुल गरेकोले समुदायमा कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । 

Lokdaun 13
लकडाउनको बेलामा धरानको माछा भौडीमा सर्वसाधरणको भिड

होम आइसोलेसनका सङ्क्रमितहरू खुल्ला हिडडूल गर्नुका साथै अधिकांश सर्वसाधारण र संक्रमित समेत पीसीआर टेस्ट गराउन स्वतःस्फूर्त आफै एन्फा क्वारेनटाइन सम्म पुगेका थिए ।

सरकारको स्वास्थ्य मापदण्ड अनुसार सङ्क्रमितलाई आइसोलेसनमा राखेर निगरानी गरिनुपर्ने र उपचार एवं परीक्षणका लागि तोकिएको सवारी साधनमा लानुपर्ने थियो । तर महामारीका बिच त्यस्तो कार्य नभएको धरान १४ विजयपुरका एक जना कोरोना सङ्क्रमितका दाजुले बताए । 

सङ्क्रमण बढिरहेका बेला लकडाउनका बाबजुद बजार खुलेका देखिन्थे । उपमहानगरपालिकाले कडाइका साथ सचेत गराउन भूमिका खेल्न सकेको देखिएन । लकडाउन खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अनिवार्य थियो ।

तर खुलेका बजार पसलहरूमा कतै पनि सामाजिक दुरी कायम गरिएको देखिएन । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको पईएन । उपमहानगरपालिकाले बजार अनुगमन कडा नगर्दा यस्तो भएको सरोकारवालाहरूले आरोप लगाएका छन् । 

कारोनाकालमा उपमहानगरको खर्च :  
धरानमा कोरोनाबाट सुरक्षाका लागि अहिले सम्म ८१ लाख ९८ हजार १७ रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

उक्त खर्च बाहिरबाट आएका मानिसलाई राख्न बनाइएको क्वारेनटाइनमा खाना, शव वाहन, एम्बुलेन्स सेवा लगायतमा खर्च भएको हो ।

कोरोना महामारीमा खटेका स्वास्थ्यका कर्मचारीहरूका लागि जोखिम भत्ता, पिपिई, स्यानिटाइजर खरिद गरेको रकम पनि त्यसमा जोडिएको छ ।

उपमहानगरपालिका कार्यालयका कर्मचारी कोरोना संक्रमित हुँदा होटल आइसोलेसनमा बस्दा उनीहरूको खर्च पनि उपमहानगरपालिकाले व्यहोरेको हो । 

निष्कर्ष : 
विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना सङ्क्रमण धरानमा पनि व्यापकरुपमा फैलियो ।

समुदायस्तर सम्मै फैलिएको आशङ्का गरिए पनि यसको पुष्टि भने धरान उपमहानगरपालिकाले गर्न सकेन । पछिल्लो समय विश्वभर संक्रमणदर घटीरहेको बेलामा धरानमा पनि कोरोना संक्रमणदर अहिले घटेको छ ।

धरानमा एकै दिन सय भन्दा बढी दैनिक जसो कोरोना संक्रमित थपिएका पनि थिए । तर अहिले हप्तामा फाट्टफुट्ट एक दुई कोरोना सङ्क्रमण देखिने गरेको छ । 

हाल उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि हप्तामा ३ दिन आइतबार, मङ्गलवार र बिहीबार स्वाब सङ्कलन गर्दै आएको छ ।

कतिपय स्वयं अस्पताल गएर  पनि पिसिआर परीक्षण गराउँदै छन् । पछिल्लो समय कोरोना परीक्षण गर्न उपमहानगरपालिकाले र्‍यापिड एन्टिजेन टेस्ट पनि थालेको छ ।

उक्त नयाँ प्रविधिले आधा घण्टामा नतिजा दिन सक्ने स्वास्थ्य महाशाखाले दाबी गरेको छ । पहिलो पटक यो परीक्षण ३७ जनामा गरिएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएको छ । 

तथापि अहिले पनि धरानको अवस्था कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका माइक्रो बायोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायण भट्टराई बताउँछन् ।

पछिल्लो पटक कोरोना भाइरसको नयाँ वेब नेपाल प्रवेश भइसकेको छ । नयाँ खाले भाइरस सङ्क्रमण विदेशमा रहेका नेपालीहरूबाटै भएको हो ।

धरान विदेशमा बस्ने स्थानीयको सिधा सम्पर्क रहेकाले सतर्कता अपनाउनु जरुरी भएको डा। भट्टराईको भनाई छ । यस्तो अवस्थाले उपमहानगरपालिका सम्भावित नयाँ चुनौतीको सामना गर्न पूर्व तयारी गर्नुपर्ने देखिन्छ । 

ANFA-Acadamy-Dharan-17