धरान : प्रचण्ड-माधव समूहका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम प्रसाद आचार्यले ओली नेतृत्वको सरकारले ३ वर्षमा कुनै पनि राष्ट्रको हितमा काम नगरेको आरोप लगाए ।

धरानमा आज भएको विरोध सभालाई सम्बोधन गर्दै आचार्यले पार्टीले दिएका सल्लाह सुझाव केही नसुनेको, एकलौटी निर्णयमा हाबी भएर कोभिड महामारीमा लकडाउन गर्ने र कर असुल्न फेरी लकडाउन खोल्ने जस्ता कार्य गरेर जनतालाई ओली सरकारले रमिता देखाएको बताउँदै उनले संसद् विघटन तत्काल सच्याउन चेतावनी दिए ।

प्रदेश १ का कमिटीका सदस्य तथा लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले कम्युनिस्ट पार्टीको मुखुण्डो ओढेर प्रधानमन्त्री ओलीले 'संवैधानिक कु' गरेको आरोप लगाए । प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव रमेश बस्नेतले जनताले ५ वर्षको लागि काम गर्न कम्युनिस्टलाई बहुमत दिएको तर प्रधानमन्त्री ओलीले संविधान कुल्चेर संसद् विघटन गरेकोमा आपत्ति जनाए ।

विरोध सभा अघि धरानमा बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो । ‘वर्तमान संसद् विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड-माधव समूहले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाराबाजी गरेका थिए ।
सङ्घर्ष समितिको आयोजनामा भएको मोटरसाइकल र्‍यालीमा हजारौँको सहभागिता रहेको थियो ।

सिंहदेवी चौकबाट सुरु भएको मोटरसाइकल र्‍यालीले पुरानो बजार, माछाभौडी, भानुचौक, भोटेपुल, बुद्धचौक हुँदै खानेपानी चौक हुँदै छाताचौकबाट भानुचौक पुगेको थियो ।

Nekapa-Reyali