झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पछिल्लो समयमा आएर मदन भण्डारी स्पोर्टस एकेडेमी सक्रिय बनेको छ ।

नेकपा राजनीतिक रूपमा विभाजन हुनु अघि कुनै औपचारिक कार्यक्रमको आयोजना नगरेको सो एकेडेमीले आजकल दिनहुँजसो विभिन्न पालिकाहरूमा विविध कार्यक्रमहरू गर्न थालेको छ । बिहीबार मात्रै ओलीकै निर्वाचन क्षेत्र गौरादहमा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

यस्तै आज ओलीकै गृह नगर दमकमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । दमक बसपार्कबाट सुरु भएको सरसफाइ गणतन्त्र चोकसम्म सञ्चालन गरिएको थियो । अभियानको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सुरुवात गर्दै व्यक्ति स्वयंले सरसफाइ नियमित गर्नुपर्ने बताए । यसलाई जनचेतनाका रूपमा अघि बढाउनु आवश्यक हुने उनको भनाई थियो ।

सरसफाइ थालनी गर्न आयोजित संक्षिप्त कार्यक्रममा ओली पक्षीय समूहको नेकपाका नेता कार्यकर्ताहरू सहित भातृ सङ्गठन र एकेडेमीका पदाधिकारी, सदस्यहरू, यातायात व्यवसायी, मजदुर सहित दमक नगरपालिकाका नगर प्रहरी लगायत स्थानीय युवाहरू सहभागी भएका थिए ।

एकेडेमीका अध्यक्ष लोके न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरूलाई परिचालन गर्ने उद्देश्यले कार्यक्रम गरिएको जनाएका छन् ।