पथरी : मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपको शनिवारको खेलमा विराटनगर फुटबल क्लबलाई हराउँदै दुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ मार्फत दूधेले नतिजा आफ्नो पोल्टामा पार्यो ।

दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेले । खेलको ४३ औँ मिनेटमा विराटनगरका आशिस चौधरीले गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । करिब ३० यार्ड टाढाबाट गरेको चौधरीको प्रहार गोलमा परिणत हुँदा १-० गोल अन्तरले विराटनगर अघि बढेको थियो । यसपछिका थुप्रै वटा प्रहारहरू गोल हुन सकेन।

खेलको ६६ औँ मिनेटमा दुधेका सनम राईले रिटर्न बल मार्फत उत्कृष्ट गोल गरेर टिमलाई बराबरीको नतिजामा ल्याए ।

सडन डेथमा विराटनगरका अशोक खवासले गरेको गोलले जाली चुम्न सकेन । यता दुधेका गोल रक्षक सन्दीप लिम्बुले गरेको प्रहारले जाली चुमेपछि नतिजा दुधेको पोल्टामा परेको हो ।

खेलको म्यान अफ दि म्याच दुधेका सनम राई घोषित भए । राईले २ हजार ५ सय रुपैयाँ र मेडल प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोली ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

आइतबारको खेल आयोजक ए टिम र टेन नवोदय बिच हुने आयोजक कमिटीले जनाएको छ ।