झापा : झापाको दमकमा जारी प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

अन्तिम क्वाटरफाइनलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै आमचोक गाउँपालिका भोजपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो ।

उसले बाह्रदशीमाथी २५-१६ र २५-१२ को सोझो सेटमा जीत हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दी म्याच पराजित बाह्रदशीका हरि खड्का घोषित भए ।

यसअघि आजै सम्पन्न अन्य खेलमा जीत हात पार्दै गौरादह नगरपालिका, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेका थिए ।

गौरादहले बिर्तामोड नगरपालिकालाई २१-२५, २५-२१ र २५-२३ ले पराजित गर्‍यो भने झापा गाउँपालिकाले चुलाचुली गाउँपालिकालाई २५-११ र २५-२३ ले तथा भद्रपुरले दमक नगरपालिकालाई २५-२३ र २५-२२ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

फाइनल प्रवेशका लागि आमचोकले भद्रपुर तथा गौरादहले झापा गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल र फाइनल खेल आइतबार हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ४० हजारसँगै ट्रफी हात पार्नेछ भने उप-विजेताले नगद २५ हजार तथा तेस्रो हुने टिमले नगद १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना दमक भलिबल सङ्घले गरेको हो ।