परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो, लोक सेवा आयोगको, मुखिया पदका लागि । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ । एउटा वस्तुगत प्रश्न सोधिएको थियो, “हिट्लर र यहुदी पुस्तकका लेखक को हुन् ?”

परीक्षा केन्द्र थियो, धनकुटा बहुमुखी क्याम्पस । क्याम्पसकै एक कर्मचारी म्याडम गार्ड थिइन् । उनले मेरो छेउमा आएर प्रश्नको उत्तरमा विश्वेश्वरप्रसाद कोइरालाको नाममा औँलाले सङ्केत गरिन्, सुटुक्क । त्यो प्रश्नको उत्तर म आफैलाई आउँथ्यो । तर ती परिचित म्याडमले म आफूप्रतिको सद्भावका कारण त्यस्तो सहयोग गर्न खोज्नुभएको होला भन्ठानेँ । त्यस बेलाको हामी अनेरास्ववियुका कार्यकर्ताप्रति ती म्याडमको निक्कै ठुलो सहानुभूति र सद्भाव रहेको बिर्सन्नँ म ।

मेरो लागि त्यो परीक्षामार्फत निजामती कर्मचारी हुने प्रयास पहिलो र अन्तिम बन्यो । मैले परीक्षाको नतिजा हेर्ने उत्सुकता पनि राखिनँ । परीक्षाको पूर्ण तयारी र आशा राखेर परीक्षामा सामेल भएको भए पो नतिजा हेर्ने उत्सुकता हुन्थ्यो त ! यो प्रसङ्ग हो, आजभन्दा २७ वर्षअघिको ।

मैले त्यो समयमा एसएलसी पास गरेँ, जतिखेर अभिभावकहरूको धारणा हुन्थ्यो, अब सन्तानले आफ्नो खट्टा आफैले टेक्ने भयो, अर्थात् जागिर खाने भयो । मलाई पनि त्यो समय जागिर खानै पर्ने बाध्यता थियो । त्यहीँ बेला धर्मराज पौड्याल हाम्रो जिल्लाको जिविस सभापति निर्वाचित हुनुभएको थियो । उहाँको सद्भाव र मेरा समवयी मित्र युवराज दाहाल (पाथीभरा हेलिकोप्टर दुर्घटनामा दिवङ्गत नेपाल सरकारका उपसचिव)को जोड र सभापतिज्यूको सद्भावले म करिब तीन महिना जिल्ला विकास समिति धनकुटाको मुखिया पदमा जागिरे भएँ । त्यहीँ समय कान्तिपुर दैनिकले “तपाईँ कान्तिपुरको समाचारदाता भएकोले”भन्दै काठमाडौँमा समाचारदाताहरूको भेलामा निम्ता गर्नासाथ मैले जिविसको मुखिया पदको जागिर खाइरहन पर्ने आवश्यकता ठानिनँ र करार अवधि थप्न जोड पनि गरिनँ ।

मलाई जिविसमा जागिर दिनुहुने तत्कालीन जिविस सभापति पौड्याल अमेरिका भ्रमणमा हुनुहुन्थ्यो । उहाँलाई एकै वचन नसोधी जागिर छोडियो । उहाँले नै हो, मलाई पत्रकारिता क्षेत्रमा प्रवेशका लागि उत्प्रेरित गर्नुभएको । त्यसैले उहाँ अमेरिकाबाट फर्केपछि सबै यथार्थ सुनाएँ । उहाँ बेखुसी हुनुभएन ।

मलाई पत्रकारिताले नै तान्यो । पछि पत्रकारिताकै दौडानमा जिविसले नै चलाएको एउटा विकासे रेडियो कार्यक्रमको कार्यक्रम उत्पादकको रूपमा डेढ वर्ष बिताएँ । जिविसमा बिताएको मेरो यी केही छोटा अवधि निजामती कर्मचारीको रूपमा थिएन । थियो त केवल जिविसले नियुक्त गरेको विकासे करार कर्मचारीको रूपमा ।

“मनसुनले पानी पर्ने र भनसुनले काम हुने” यो देशमा निजामती कर्मचारी हुने सपना फेरि फेरि मैले सँगाल्न सकिनँ । लाग्छ म नेपाली कर्मचारीतन्त्रमा फिट हुने स्वभावको मान्छे पनि होइन ।
तर एउटा नेपाली नागरिकको हैसियतले नेपाली कर्मचारीतन्त्रसँग म जोडिने नै भएँ । मसँग नेपाली कर्मचारीहरूसँग जोडिएका केही तिता मीठा प्रसङ्गहरू छन् । त्यहीँ पोख्न मन लाग्यो, मलाई ।
नागरिकताका लागि पाँच रुपैयाँ घुस ।

भर्खरै सुरु भएको थियो, मेरो कलेज जीवन । कलेजले छात्रवृत्तिका लागि आवेदन आह्वान ग¥यो । आवेदनका साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य भनिएको थियो । त्यसपछि नागरिकताको सिफारिसका लागि तत्कालीन धनकुटा नगर पञ्चायतका प्रधानपञ्च राजेन्द्र प्रधानसमक्ष पुगेँ । ती भलाद्मी प्रधानपञ्चले मेरो बारेमा सामान्य जानकारी लिए । एउटा सानो लफडा थियो नागरिकतामा । हाम्रा बुवा पुस्तादेखि उताकाले थर लिम्बु लेखे, हामी सन्तानपुस्ताले चाहिँ आफ्नो थरमा सुब्बा लेख्न थाल्यौँ । विद्यालयमा पनि सोहीअनुसार नाम लेखियो । फेरि मेरो रजिस्ट्रेसन फर्म भर्दा जन्म मितिमा थोरै तलमाथि भएको रहेछ, अस्थायी नागरिकताको पीठको टिपनभन्दा । यस समस्या पनि सच्याउनु थियो । त्यहीँअनुसार तत्कालीन प्रधानपञ्चले सिफारिस गरिदिएका थिए ।

“कति पढ्या छौ ?” मेरो निवेदन पढिसकेपछि प्रजिअ पुरुषोत्तम भट्टराईले सोधे ।
“आइए पढ्दैछु सर ।”
“ल तल जाऊ नागरिकता फाँटमा”, सडियो सावले रुखो व्यवहार देखाएनन् ।
नागरिकता फाँटमा मेरो कागज पुग्यो । केही घण्टाको प्रतीक्षापछि एक नायव सुब्बाले मलाई बोलाए र भने, “ल लेऊ ।”
अब म नेपाली नागरिक भएको थिएँ । तर ती सुब्बासाहेवले मेरो हातमा नागरिकता प्रमाणपत्र थमाउनासाथ भने,“पाँच रुपैयाँ देऊ ।”

मैले खल्तीबाट खाजा खान राखेको पाँच रुपैयाँको नोट निकालेँ । पैसाको लागि न मैले रसिद मागेँ, न कारण सोधेँ । अविस्मरणीय छ, मेरो लागि मेरै छिमेकीको घरमा डेरा गरी बस्ने ती सुब्बा साहेबलाई मैले “नेपाली नागरिकताको प्रमाणपत्र”प्राप्त गर्दा पाँच रुपैयाँ घुस खुवाउनु परेको घटना ।

परराष्ट्र मन्त्रालयको त्यो झ्याल

हङकङमा क्रियाशील समाजसेवी, सञ्चारकर्मी तथा अभियन्ता किसन राईको फोन आयो,“ल है दिक्पालजी, वैरागी काइँलाका साथ तपाईँ हङकङ आउन प¥यो ।”

वाह, मेरो विदेश यात्रा ! ओके नभन्ने कुरै भएन । सन्दर्भ थियो, उहाँद्वारा प्रकाशित तथा सम्पादित “एभरेस्ट साप्ताहिक ” को दशौँ वार्षिकोत्सव ।

पासपोर्ट बनाउनुपर्ने भयो । साथीहरूले सम्झाए,“किन तपाईँजस्तो मान्छेले लाइनमा बसेर पासपोर्ट बनाउने ?”
“किन र ?” साथीहरूलाई मेरो प्रतिप्रश्न ।

साथीहरूले सुझाए,“एक पटक माथि सम्पर्क गर्ने नि, परराष्ट्र वीट हेर्ने साथीले सहयोग गरिहाल्नुहुन्छ । फेरि तपाईँको आफ्नै प्रोफाइल पनि दह्रो छँदैछ ।”

त्यसबेला म एक राष्ट्रिय दैनिकको वरिष्ठ संवाददाता थिएँ । एउटा कलेजमा पढाउँथेँ । कलेजले मलाई असिस्टेन्ट लेक्चरर पद दिएको थियो । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिएँ, अनि त्यहीँ सम्बन्धबाट अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ(आईएफजे)को पनि सदस्यता प्राप्त गरेको थिएँ ।

तर मैले साथीहरूको सुझावअनुसारको बाटो रोजिनँ । बरु रोजेँ, एउटा सर्वसाधारणले हिँड्ने बाटो ।
नारायणहिटी पुगेँ, र राहदानीका लागि कागजको मुठो झ्यालबाट छिराएँ । आवेदन रद्द भयो । कारण थियो, मेरो नागरिकताको प्रतिलिपि । मेरो नागरिकता हराएका कारण मैले प्रतिलिपि लिएको थिएँ । कर्मचारीलाई लागेछ, यसले दोस्रो पटक पासपोर्ट निकाल्दै छ । उसैले सुझाएअनुसार, मैले जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट लिए, नलिएको सिफारिस ल्याउनुपर्ने भयो । मैले सबै प्रक्रिया पुरा गरेँ ।

फेरि नारायणहिटीको झ्यालमा पुगेँ । मेरो कागजको मुठो बुझ्ने उनै नवयुवक शाखा अधिकृत रहेछन्, जसले पहिले मलाई जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर आउन भनेका थिए ।

“यदि मैले चाहे भने तिमीलाई पासपोर्टका लागि सिधै धनकुटा पठाउन सक्छु, बुझ्यौ”, ती राष्ट्रसेवकले मलाई “तिमी” शब्द पो प्रयोग गरे ।

तर सम्बोधनलाई मैले रमाइलोसँग ग्रहण गरेँ, र विनम्रतापूर्वक जिज्ञासा राखेँ,“सर, किन मलाई धनकुटा पठाउने हजुर ?”
“ए”, सबै कागज हेरिसकेपछि तिनको शब्दबाट यति मात्र फुत्कियो । अनि प्रक्रिया प्रारम्भ भयो ।
साथीहरूले सुझाएको सोर्सफोर्सको बाटोबाट पासपोर्ट लिनुभन्दा सर्वसाधारणले हिँड्ने बाटो हिँडेर पासपोर्ट बनाउने मेरो चाहनाबाट मैले नेपाली कर्मचारीहरूको सर्वसाधारण नेपाली नागरिकलाई कुन शब्दले सम्बोधन गर्दा रहेछन् भन्ने अनुभव त सँगाल्न पाएँ ।

हामीलाई थाहा छ, पासपोर्ट बनाउन लाइनमा बस्ने अधिकांश नेपाली नागरिक वैदेशिक रोजगारीमा जान चाहन्छन् । रेमिट्यान्सले धानिएको मुलुकमा पासपोर्ट बनाउन जाने कति नेपालीहरूले कर्मचारीबाट “तिमी”शब्दबाट सम्वोधित हुने अवसर प्राप्त गरेका होलान्, यसको तथ्याङ्क त म कसरी दिन सकुँला ? तर त्यो अवसर पाउने सौभाग्यशाली चाहिँ म आफू पनि एक हुँ ।

नामले गर्‍यो काम

माथिल्लो अनुभवबाट स्पष्टै छ, आफ्नो नाम र हैसियतको दुरुपयोग गर्न चाहन्न म । तर पनि रमाइलो हुँदा रहेछन्, कहिले काहीँ केही संयोगहरू !

मेरी एक जना महिला मित्रको प्रसङ्ग । तिनलाई विदेश नगई नहुने । उनले सहयोग मागिन् । उनको आग्रहअनुसार मैले एक जना राजपत्राङ्कित कर्मचारी खोज्नुपर्ने भो, पासपोर्टको आवेदनमा सिफारिसका लागि हस्ताक्षर गरिदिने ।

त्यो बेला म धरानमा बसेर पत्रकारिता गरिरहेको थिएँ । एक राष्ट्रिय दैनिकको समाचारदाता थिएँ, अनि एक स्थानीय साप्ताहिकको कार्यकारी सम्पादक ।
म ती महिला मित्रको सहयोग याचनालाई साकार पार्न इलाका प्रशासन कार्यालय, धरान पुगेँ । त्यसबेला हङकङ आइडीको ठुलो लहर अनि कारोबार थियो ।

इलाका प्रशासन कार्यालय प्रमुखलाई हस्ताक्षर गरिदिन अनुरोध गरेँ, मान्दै मान्दैनन् ।
त्यहाँ एक जना समाजसेवी अनि मेरा हितैषी कृष्ण राई भेटिए । उनले आफ्नो काम सकिसकेका रहेछन् । बिदाइको हात हल्लाउँदै भने,“दिक्पालजी, तपार्इँ किन यता ?”

मैले “मेरो सानो काम छ” भनी नसिध्याउँदै ती हाकिम साहेबले हस्ताक्षर गरिहाले ।
मैले त्यो बेला इलाका प्रशासन कार्यालयमा हुने घुस खोरीको समाचार लेखेको थिएँ । तर त्यो लेख्ने पत्रकारलाई घुस खाने हाकिमले ससरीर चिन्दैनथ्यो । तर नामले चाहिँ चिनिहालेछन्, अनि हस्ताक्षर गरिहाले थपक्क ।
एक दिन मेरा अन्तरे भेना भीमबहादुर लिम्बुले सुनाए,“होइन हौ कान्छा, तिम्रो नामले त राम्रो पो काम गर्‍यो है ।”
“कसरी ?”

भेनाले सुनाएको कुरा सुनाए । कुरा के परेछ भने मेरी दिदी विमला नाता सम्बन्धबाट नागरिकता लिन ताप्लेजुङको सदरमुकाम पुगिछन् । कर्मचारीले झुलाएको झुलाएकै । प्रमाण सबै पुगिसक्यो, नागरिकता हातमा पर्दैन । एक दुई दिन यसरी नै बित्यो ।

“तपाईँको समस्या के होला ?” जिल्ला प्रशासन कार्यालयसँगै रहेको एउटा कार्यालयको हाकिमले खाजा छुट्टीमा निस्कँदा दिदीलाई सोधेछन् । दिदीले आफ्नो समस्यासँगै माइतीको नाम थर, वतन बताएपछि मेरो नाम लिइछन् । त्यसपछि ती हाकिमले प्रशासन कार्यालयको फाँटवालालाई हप्काएर “प्रक्रियाअनुसार काम गर्न” भनेछन् । त्यसपछि फाँटवाला लुरुक्क ।

को रहेछन् ती हाकिम भनेर पत्ता लगाउँदा धिताल थरका मेरै वडा बासी र म आइए पढ्दा ती बीए पढ्ने मेरा अग्रज शुभचिन्तक रहेछन्, तीर्थ धिताल ।

मेरी कान्छी बहिनी इन्दुले जग्गा किन्ने इच्छा राखिन् । उनी भने हङकङमा । मैले नै किनेर मेरै नाममा पास गर्नुपर्ने भयो । पछि उनकै नाममा त्यो जग्गा फिर्ता दिनु छँदैछ । उनी नेपाल आएको बेला उनको नाममा बकस पत्र गर्न पुगियो² मालपोत कार्यालय, ललितपुर ।
फाँटवाला शाखा अधिकृतले रातो मसी चलाउन मान्दै मानेनन् ।

कुरा के भने बहिनीको नागरिकतामा बुवाको थर लिम्बु लेखिएको, र मेरोमा बुवाको थर सुब्बा । मैले लिम्बु र सुब्बा एउटै हो भनेँ । तर उनी मानेनन् । रोविलो स्वरमा भने,“नगरपालिकाको सिफारिस चाहिन्छ । म पनि धनकुटाको मान्छे हुँ ।”

अब पर्यो फसाद । बहिनी उड्ने समय आइसक्यो, कताबाट ल्याउनु तत्कालै नगरपालिकाको सिफारिस ?
“तपाईँ धनकुटा कहाँको ?”
उनले भने,“म धनकुटा राम्ररी बुझ्दछु । म खोटाङको ।”
“तपाईँको नाम ?
“...भट्टराई ।”
मैले उनीसँग हात मिलाउँदै हल्का मुस्कुराहटसाथ भनेँ,“म राजकुमार दिक्पाल क्या ।”
“हत्तेरी तपाईँको भनेपछि त आँखा चिम्लेर हान्दिहाल्छु नि ।” यति भनिनसक्दै ती अधिकृतले रातो मसीले आफ्नो हस्ताक्षर दौडाइसकेका थिए ।

ती थिए, म भन्दा जुनियर धनकुटा क्याम्पसका अखिल कार्यकर्ता । उनी स्ववियू सचिव हुँदा एक दुई पटक भेटेको थिएँ । हामीले अखिलको पाइला चालेको परिसरमा ती पनि हिँडेको थिए । लामो समय भेट नभएकोले हामीले एकापसमा अनुहारले चिनेनौँ । तर नामले बन्यो काम ।

मनसुनले पानी पर्ने र भनसुनले काम हुने देशमा मेरो नामको सदुपयोग भएको दुरुपयोग भयो थाहा छैन । तर मेरो सोझो मनले भन्छ, आफ्नो नाम कतै विक्री गर्न नपरोस् ।